खुला बहसः रघुगंगामा प्राविधिक शिक्षामा कम्प्युटर ईन्जिनियरिङ् कति उपयुक्त ?
- १७ चैत्र २०७५, आईतवार
- 3337 पटक पढिएको
सागर भण्डारी
म्याग्दी, १७ चैत । करिव ३ हप्ता अघि म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा रघुगंगा गाउँपालिकाको विकास र समृद्धीका लागी विद्यार्थीको भुमिका के हुन सक्छ ? आम रघुगंगाका विद्यार्थीले रघुगंगा गाउँपालिका बाट शिक्षा क्षेत्रबाट कस्तो आशा र अपेक्षा गर्ने ? विद्यार्थीले भोगीरहेको समस्या के हो र कसरी समाधान गर्न सकिन्छ ? भन्ने विषयमा बहस भयो । यिनै समस्या समाधान गर्ने र विश्वभरि छरिएका रघुगंगा गाउँपालिका विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीलाई एउटै मञ्च ल्याउनका लागी रघुगंगा विद्यार्थी मञ्च स्थापना गर्ने निर्णय गरियो । अहिले संस्था आधिकारिक दर्ता प्रकृयामा छ ।
हामीले रघुगंगाका आम विद्यार्थीहरुका केहि मुख्य समस्याहरु खुड्कायौ । शिक्षामा आधुनिकरण र प्रविधीको प्रयोग नगन्य हुदा आधुनिक संसारसंग विद्यार्थी अपरिचीत, प्राविधिक शिक्षाको अभाव, १२ कक्षा भन्दा माथी अध्ययन गर्ने विद्यार्थी अती न्युन, स्वदेशमा रोगगारीको कमी आदी । यि समस्या केहि हदसम्म समाधानका लागी केहि दिर्घकालिन योजना निमार्ण गरि गाउँपालिकामा प्रस्तावना पत्र बुझाउने तयारीमा रघुगंगा विद्यार्थी मञ्च छ । गाउँपालिकामा प्रस्तावना पत्र पेश गरि रघुगंगा विद्यार्थी मञ्च र गतिविधी सार्वजनीक गर्ने तयारीमा थियौ तर गाउँपालिकाबाट कृषि प्राविधिक शिक्षालय स्थापनाको तयारी गरिरहेकोले प्राविधिक शिक्षालयको सम्बन्धमा हाम्रो धारणा व्यक्त गरेका छौ र एक पटक खुला र स्वस्थ बहसको लागी अपिल गर्दछौ ।
देशको समग्र विकासको लागि प्राविधिक शिक्षा एउटा महत्वपूर्ण आधार स्तम्भ हो भन्ने कुरा संसारका धेरै देशहरूको अनुभवले देखाइसकेको छ । प्राविधिक शिक्षाको महत्वलाई बुझेरै नेपालले पनि यस क्षेत्रमा प्रशस्त लगानी गरेको छ । सरकारले अहिले एक स्थानिय तह एक प्राविधिक शिक्षालय स्थापना कार्यक्रम सुरु गरेको छ । अहिले सरकारले आधारभुत १८ महिने प्राविधीक शिक्षालयका लागी करिव २५ बटा विषय राखेको छ । यसमा मुख्य गरेर स्वास्थ्य क्षेत्रमा ७, ईन्जिनियरिङ्ग ९, कृषि ४, अन्य ५ विषय अध्यापन गराईरहेको छ । भने प्राविधिक शिक्षालयको डिप्लोमा कार्यक्रम तर्फ २९ बटा विभिन्न शिर्षकमा कार्यंक्रम विभाजन गरेको छ । स्वास्थ्य क्षेत्रमा ११, ईन्जिनियरिङ्ग ११, कृषि ३, बनविज्ञान १, होटल व्यवस्थापन १ र सामाजिक तर्फ २ बटा विषय अध्यापन भैरहेका छन् ।
म्याग्दी जिल्लाका २ बटा स्थानिय तहमा २ प्राविधिक शिक्षालय स्थापना भएको छ । मालिका गाउँपालिकाको विममा कृषि शिक्षालय र बेनी नगरपालिकाको तोरीपानीमा सिभिल ईन्जिनियरिङ्को कक्षाहरु सुचारु भएको छ । अन्य गाउँपालिकाले पनि प्राविधिक शिक्षालय स्थापनाको तयारी गरिरहेका छन् । हाम्रो रघुगंगा गाउँपालिकाको मुक्तिधाम मावीमा कृषि प्राविधीक शिक्षालयका लागी गृहकार्य सुरु भएको जानकारी आएको छ । कृषि क्षेत्रमा अध्यापनका लागी निर्णय भएर जग्गा खोजी कार्य तिब्र पारिएको छ । तर कृषि शिक्षालयको निर्णय लिदा उल्लेख्य बहस भएन । सम्भाबना र चुनौतीको अध्ययन नगरी, समय छोटा भएकाले प्रशस्त गृहकार्य नगरी निर्णय भएको मुक्तिधाम मावीका एक शिक्षकले बताउनु भयो । थप्नुभयो विद्यालयले सुचना ढिलो पाएकाले खुला बहसमा जान सकिएन ।
केन्द्र सरकारबाट कृषि क्षेत्रमा नै अध्यापन गराउनका लागी स्वकृती प्राप्त भएको छैन् । त्यसैले हामी एक पटक कुन विषय अध्यापन गराउन उपयुक्त हुन्छ भनी खुला बहस गर्न चाहान्छौ ।
रघुगंगामा कृषि शिक्षालय स्थापनाका लागी केही समस्याहरु छन्, बुदाँगत रुपमा राख्न चाहान्छु ।
१. मालिक गाउँपालिकाको विममा कृषि प्राविधीक शिक्षालय स्थापना भैसकेको छ । एउटै जिल्लामा एउटै शिर्षकको प्राविधिक शिक्षालय उपयुक्त हुदैन् । फरक–फरक विषय छनोट गर्दा धेरै जनता लाभान्वित हुन सक्छन् ।
२. रघुगंगाको कति प्रतिशत भुमि खेतियोग्य छ ? के कृषि क्षेत्रबाट रघुगंगाको समृद्धी हासिल गर्न सक्छ होला?
३. अध्ययनपछि कोही व्यवसायिक खोती गर्न चाहे भने के प्रयाप्त मात्रामा जग्गा र सिचाईको व्यवस्था गर्न सक्छ ? के भारतको बजार संग हाम्रो कृषि उत्पादनले प्रतिस्पर्धा गर्न सक्ला ?
४. रघुगंगाबाट विममा जेटिए प्लान्ट र मुस्ताङ्गबाट जेटिए पशुपालन अध्ययन सकेका विद्यार्थीको अवस्था कस्तो छ ? के उनिहरुले कृषि फार्म स्थापनाका लागी आवश्यक वातावरण पाएका छन् वा उनिहरुको रोजगारको सुनिश्चितता छ त?
५. के प्रत्येक बर्ष कृषि क्षेत्रले अध्ययन गर्ने ४८ जना पाउन सक्ला ? विममा शिक्षकको अभाव हुदा विद्यार्थीहरु मारमा परिरहेको गुनासो छ ? आदी कारणले गर्दा यहाँ कृषि शिक्षालय स्थापना भएपनि दिगो हुन समस्या छ । यस विषय अध्ययापन गराउनका लागी करोडौ रुपैयाँ खर्च हुन्छ, कृषि क्षेत्रमा अध्यापन गराउन भन्दा अधि एक पटक पुनः सोच्ने की ?
कृषि शिक्षालयको विकल्प ?
रघुगंगा विद्यार्थी मञ्चले कृषि शिक्षालयको विकल्पमा कम्प्युटर शिक्षालयमा आफ्नो मत राख्दछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले कम्प्युटर शिक्षाका लागी जुनियर कम्प्युटर टेक्निसियन र डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्को कक्षा संचालनका लागी सम्बन्धन दिईरहेको छ ।
विगत २ दशक देखि व्यापक प्रयोगमा आईरहेको सुचना, सञ्चार तथा प्रविधी (आईसिटी) क्षेत्रमा दैनिक हजारौ नयाँ रोजगारी सिर्जना गरिरहेको छ । आज आईसिटी जिवनको अभिन्न अङ्ग जस्तै बनिरहेको छ । आईसिटीको दक्ष जनशक्ति नेपाल जस्तो विकासोन्मुख देशमा भारी मात्रामा माग रहेको छ । देशमा बढिरहेको बेरोजगार र बे्रन ड्रेनको समस्या धेरै हदसम्म कम्प्युटर ईन्जिनियरिङ् जस्ता प्राविधीक शिक्षाले गर्न सक्छ । आज नेपालमा बसेर विश्व समुदायलाई आफ्नो डिजिटल प्रोडक्ट बेचिरहेका कम्पनीहरु अहिले दिन प्रतिदिन बढिरहेका छन् ।
रघुगंगा विद्यार्थी मन्चको अवको एक यात्रा भनेको रघुगंगाका सबै आधारभुत तह (कक्षा ३ देखी)मा कम्प्युटर प्रयोगशाला स्थापना तथा कम्प्युटर कक्षा संचालन गर्ने रहेको छ । यसका परियोजना सफल पार्न विद्यालयहका लागी आवश्यक कम्प्युटर शिक्षक उत्पादनका लागी हामी गृहकार्य गर्दै छौ । आधारभुत तहदेखिनै कम्प्युटर शिक्षा सञ्चालन गर्दा कम्प्युटर ईन्जिनरिङ अध्यापनका लागी आवश्यक विद्यार्थी उत्पादनका लागी मदत पुग्ने छ । (कम्प्युटर ईन्जिनियरिङ्ग स्थापनाका फाईदा, सम्भावना र चुनौति सम्बन्धी बिस्तृत रुपमा अर्को लेखमा )
कम्प्युटर ईन्जिनियरिङ् स्थापनाले रघुगंगा गाउँपालिकालाई मात्र फाईदा नभएर समग्र म्याग्दी जिल्ला लाभान्वित हुन सक्छ । एउटै जिल्लामा एउटै विषयको दुइृवटा शिक्षालय तत्कालिन अवस्थामा आवश्यक देखिदैन । कम्प्युटर ईन्जिनियरिङ् मात्र नभएर अन्य विषय पनि अध्यापनका लागी सम्भावना हुन सक्छन् । विषय छनोट गर्दा बृहत छलफल गरी निर्णय गर्दा उपयुक्त हुन्छ । बरु एक बर्ष ढिलो प्राविधिक शिक्षालय स्थापना हुदा केहि फरक पर्दैन तर एक गलत निर्णयले रघुगंगाको भविष्यनै अन्धकार हुन सक्छ । यस सम्बन्धी सम्बन्धित निकायहरुको ध्यान जान आवश्यक छ ।
(यो लेख एक महिनापछी, केहि फरक तरिकाले लेख्ने विचार थियो तर रघुगंगा गाउँपाकिाले कृषि प्राविधीक शिक्षालय स्थापना गर्नका लागी प्रकृयामा अघि बढेको सुचनाले समय अगावै यो लेख लेखेको छु । )
लेखक रघुगंगा विद्यार्थी मञ्चका संस्थापक सदस्य हुन ।