हाईड्रो भिलेज नारच्याङ्गमा १० जलविद्यूत आयोजना (फोटो फिचर)

  • ८ बैशाख २०७४, शुक्रबार
  • कमल खत्री
  • 3849 पटक पढिएको

म्याग्दी, ८ वैशाख । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत आयोजना भित्रिएका छन् ।  राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ्ग दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर रहेको कारण पर्यटकीय गाविसको रुपमा चिनिँदै आएपनि जलविद्युत आयोजनाहरु भित्रिएसंगै यो गाउँ जलविद्यूत गाउँ ( हाइड्रो भिलेज)को रुपमा चिनीन थालेको छ । 

नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजनाले जिल्लामै जलविद्युतको सम्भावनाको ढोका खोलेको थियो । जलस्रोतको अथाह भण्डार भएको यस गाउँमा एक निर्माण सम्पन्न भएको सहित १० वटा जलविद्युत आयोजना भित्रिएको  नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।

अन्नपुर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बाग्ने निलगीरी अर्थात मिरिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागी अहिलेसम्म नारच्याङ्गमा मात्रै करिब २९० मेगावाट क्षमताको १० वटा जलविद्युत आयोजना दर्ता भईसकेका छन् ।

‘‘ अहिले गाउँमा भित्रिएका जलविद्यूत अयोाजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै यस नारच्याङ्गलाई ‘हाईड्रो भिलेज’ मा परिणत गराउने सम्भाबना बढेको छ ’’– जलसरोकार समितिका सदस्य गुरुङले भन्नुभयो । अहिले गाउँमा भित्रीएका जलविद्युत आयोजना मध्ये ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् ।

त्यसैगरि ३८ मेगावाटको निलगिरी, ६२ मेगावाटको निलगिरी क्यास्केट, १० मेगावाटको रेलेखोला जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी,  ५ मेगावाटको निलगीरी माथिल्लो, ५० मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजना अहिले दर्ता भएर ईआइएको चरणमा रहेको छन ।

त्यसैगरि लाइसेन्स खारेजीमा परेको १ सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३ सय रोपनी जग्गाको मुआब्जा बितरण गरिसकेकाले उक्त आयोजना समते लगानीकर्ताको खोजीमा रहेको बुझिएको छ । जलविद्युत आयोजनाहरुको आगमन संगै गाउँको सामाजिक तथा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ ।

कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई जलविद्युतको क्षेत्रमा प्रयोग गर्दै जिल्लालाई मुलुककै ‘हाईड्रो हब’ बनाउने संकल्प गरिसकेको अवस्थामा नारच्याङमा दर्ता भएका जलविद्युत आयोजनाले धमाधम काम गर्न थालेपछि जिल्लामा यसले सकारात्मक सञ्चार गराएको छ ।

स्थानीय स्तरमा उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमत्ताको सब स्टेशन तथा ३८ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाईन निर्माण सुरु गरेपछि जलविद्युत आयोजनाहरुले पूर्वाधार निर्माणलाई तिब्रता दिएक हुन् ।  आयोजनाहरुबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्ने प्रशारण लाईन र सबस्टेशनको अभावमा यस अघि अनुमती लिएर लामो समयदेखि आयोजनाहरु दर्तामै थन्किनु परेको थियो  ।

जलविद्युत आयोजनाहरुको हब रहेको करिब ४ सय ८० घरधुरीको बसोबास रहेको नारच्याङमा अहिले सर्वसाधारण नागरीकहरु फुर्सदमा देखीन छाडेका छन् । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्यूत आयोजनामा अहिले करिब ९० जना बढी स्थानीयले रोजगारि पाएका छन् । आयोजनाको सुरुङ मार्ग, बाँध निर्माण लगायत आयोजनाको लागि आबश्यक पर्ने जनशक्ति स्थानीय स्तरमा उपलब्ध भए उनीहरुलाई नै अबसर दिने नितिले समेत नारच्याङमा स्थानीयलाई रोजगारिको अबसरहरु सृजना भईरहेका छन् ।

अहिले यस गाउँबाट रोजगारिको लागि गाउँमा अबसर नपाएर विदेशीनुपर्ने बाध्यताको अन्त्य भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिब बिमल रिजालले आयोजनामा सिप नभएकाहरुलाई पनि अन्य व्यक्तिहरुबाट शिप विकास गरि क्षमता अनुसारको काम गर्ने अबसर दिइएको बताउनुभयो । नारच्याङ गाविसघरबाट करिब रु १ करोड रुपैयाँ स्थानीयले आयोजनामा शेयर लगानी पनि गरेका छन् ।
त्यसमध्ये उपल्लो नारच्याङको लेकगाउँका अधिकाँश घरधुरीबाट आयोजनामा लगानी भएको छ ।

नारच्याङमा घलेम्दी संगै रोवस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्यूत आयोजना समेत निर्माणचरणमा प्रवेश गरेसंगै नारच्याङमा जलविद्यूत आयोजनाको चहलपहल झनै बढेको छ । आयोजनाहरुमा काम गर्ने कामदार र लगानीकर्ताहरुको आवत जावत बढ्न थालेको छ भने जलविद्यूत आयोजनाहरुको पूर्वाधार निर्माणको लागि सडक, पुल लगायतका भौतिक विकास निर्माणलाई समेत अगाडी बढाउँदा यसले स्थानीयलाई प्रत्येक्ष रुपमा सहजता प्रदान गरेको छ ।

जलविद्यूत आयोजनाहरुले स्थानीयलाई रोजगारि र लगानीका अबसर सृजना गर्ने र दिर्घकालिन रुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्यूतको विकासको लागि आबश्यक वातावरण तयार गर्ने काम भईरहेको स्थानीय युवा अर्जुन मगर बताउँछन् । नारच्याङमा भित्रिएका जलविद्यूत आयोजनाहरुले रोजगारि र लगानीको अबसर मात्रै नभई स्थानीय विद्यालयहरुको निजी स्रोतका शिक्षकहरुलाई तलब उपलब्ध गराउने, विकास निर्माणका पूर्वाधार निर्माण गर्ने जस्ता सामाजिक कामहरुमा गाउँलेहरुलाई प्रत्येक्ष राहत मिलेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l