म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन आवश्यक

  • २२ माघ २०७५, मंगलवार
  • 3449 पटक पढिएको

म्याग्दी, २२ माघ । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक ब्यवस्थापन आवश्यक देखिएको छ। डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा दिगो बैज्ञानिक वन ब्यवस्थापन सुरु गरेका विभिन्न जिल्लामा गरिएको अवलोकनले म्याग्दीमा आवश्यक देखिएको हो ।

वैज्ञानिक वन ब्यवस्थापन सम्वन्धि अन्तर जिल्ला अध्ययन अवलोकन भ्रमणमा सहभागि राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासंघ, गैससका प्रतिनिधि र वन कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको अवलोकनले म्याग्दीमा पनि  दिगो वन ब्यवस्थापन सम्भव रहेको निष्र्कष देखाएका हुुन् ।

बैज्ञानिक वन ब्यस्थापन सुरु गरेका कपिलवस्तुको नवदुर्गा सामुदायिक वन र हरियाली सामुदायिक वन, रुपन्देहीको रामनगर सामुदायिक वन, अर्घाखाचीको  रिपापार सामुदायिक वन र कैलालीको साझेदारी सामुदायिक बनको अध्ययन अवलोकनले म्याग्दीमा सम्भव देखिएको हो ।

बैज्ञानिक वन ब्यवस्थापन नेपालमा कपिलबस्तुबाट सुरु भई तराईको अन्य जिल्लामा पनि विस्तारसंगै पहाडी जिल्ला अर्घाखाचीमा पनि प्रभावकारी देखिएको छ । प्रजाति र भुगोलअनुसार दिगो वन ब्यवस्थापनले रोजगारी, आर्थिक बृद्धि, आर्यआर्जनले राजश्वमा वृद्धि र समुदायको पुर्वाधार निर्माणमा सहयोग पुग्ने डिभिजन बन कार्यालय नवलपरासीका सहायक– वनअधिकृत कृष्णहरी देवकोटाले बताए ।

म्याग्दीमा बैज्ञानिक ब्यवस्थापन सूरु गर्न सकेमा पुराना रुखहरु काटेर आम्दानी लिन सकिने र नयाँ विरुवाले समयमै हुर्कन पाउने, काठको उत्पादन बढ्न, रोजगारी सिर्जना हुने भावि पुस्तालाई वनको महत्व बुझाउनका लागि अवलोकन भ्रमणले  आयोजना गरिएको डिभिजन वन कार्यालयका फरेष्टर भविराम किसानले बताए । काठ दाउराको सहज आपूर्ति, वनको अवस्थामा सुधार, अतिक्रमण र चोरी निकासी बन्द हुनुको साथै वन संरक्षणको लागि  बैज्ञानिक वन ब्यवस्थापन म्याग्दीमा पनि सुरु गरिने किसानले बताए ।

गलेश्वर ठुलोसल्लेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुण्यबहादुर चोखालले भ्रमणले म्याग्दीमा पनि बैज्ञानिक वन ब्यवस्थापन सम्भव सम्भव रहेको बताए । दिगो ब्यवस्थापन ठुला रुखको समयमै आम्दानी र साना विरुवालाई समयमै हुर्कन दिनका लागि  बैज्ञानिक ब्यवस्थापन आवश्यक रहेको बताउदै ठुलोसल्लेरीमा सुरु गर्न लागेको चोखाले बताए ।

भुगोल र प्रजातिको उमेर अनुसार वनलाई विभिन्न ब्लकमा विभाजन गरि चक्र अनुसार रुख काट्ने र विरुवा हुर्काने गरिन्छ । परम्परागत रुपमा विकास भएको वनले समुदाय र राज्यलाई ठुलो फाईदा दिन नसकेको र वनमा लिनुपर्ने पनि गुमेको महशुुसले  बैज्ञानिक  वन ब्यवस्थापन नेपालमा सुरु भएको हो । अन्य देशबाट हुने काठ आयातलाई रोक्न निर्यातलाई बढाउन बैज्ञानिक ब्यवस्थापनले सहयोग पुग्ने देखिन्छ ।