हिमचितुवा संरक्षण अभियान
- ११ मंसिर २०७५, मंगलवार
- 2729 पटक पढिएको
ठिनी, ११ मङ्सिर । मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो ।
रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सीको आर्थिक सहयोगमा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयाप० सँगको सहयोगमा थर्ड पोल कञ्जरभेन्सी र मोडिफिकेशन जोमसोमले समुदाय, विद्यालयमा हिमचितुवा संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ ।हिमचितुवाको बासस्थानको पहिचान र संरक्षणका लागि गत हप्ता समुन्द्री सतहदेखि तीन हजार पाच सय देखि चार हजार मिटरको उचाइमा अवस्थित लुप्राको लेकमा विद्यार्थी र संरक्षण शिक्षकलाई हिमचितुवाको लागि क्यामेरा ट्रयापिङ गर्ने प्रविधिका बारेमा स्थलगत तालीम दिइएको थर्ड पोल कञ्जरभेन्सीकी जमुना प्रजापतिले बताउनुभयो।
तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विद्यार्थी र ५ जना शिक्षकलाई हिमचितुवाको महत्वका बारेमा जानकारी गराउनुका साथै क्यामेरा ट्रयापिङ गर्ने विषयमा प्राविधिक ज्ञान, सीप प्रदान गरिएको स्नो लियोपार्ड कञ्जरभेन्सीका प्रतिनिधि पेमा गुरुङले बताउनुभयो ।
एक्यापकी रेञ्जर धनु गुरुङ , पुर्व स्नो लियोपार्ड स्काउटका विद्यार्थी रमेश बिक र संरक्षण क्षेत्र व्यवस्थापन समिति मुक्तिनाथको अध्यक्ष घिर्मी गुरुङले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जनशान्ति मावि कागबेनी, लुप्रा आधारभूत विद्यालय लुप्रा, धवलागिरि आवासीय विद्यालय जोमसोम, जनहित मावि जोमसोम र जनकल्याण आधारभूत विद्यालय स्याङका शिक्षक विद्यार्थीले हिमचितुवाको ढुङ्गा चित्र प्रदर्शनीका साथै कविता वाचन गरेका थिए ।
मुस्ताङको ठिनी, लुप्रा, छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिमचितुवाको बासस्थान रहेको छ । केही वर्षअघि गरिएको क्यामेरा ट्यापिङका क्रममा ठिनी र लुप्रा क्षेत्रमा चार वटा हिमचितुवा भेटिएको एक्यापकी रेञ्जर धनु गुरुङले बताउनु भयो ।
विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई भेट्न पाउँदा निकै खुसी लागेको र विद्यार्थी मात्र नभइ शिक्षकहरुलाई पनि यस्ता कार्यक्रमहरु एकदम प्रभावकारी भएको श्री जनहित मा वि का संरक्षण शिक्षक भेषराज बास्तोलाले बताउनु भयो ।
भेडा, च्याङ्ग्रा लगायत घरपालुवा बस्तुभाउमाथि आक्रमण गर्नेक्रम सँगै पछिल्लो समय मुस्ताङका पशुपालक र हिमचितुवाबीच बढेको द्वन्द हिमचितुवा संरक्षणका लागि चुनौती बनेको छ । द्वन्द्व न्यूनीकरणको उपाय पहिचान गरेर हिमचितुवा संरक्षणका लागि समुदायस्तरमा जनचेतनामूलक गतिविधि गरिएको मोडिफिकेशन जोमसोमका अध्यक्ष नीरज थकालीले बताए ।