फलफुल र तरकारी खेतीबाट बार्षिक ३ लाख आम्दानी

  • २५ चैत्र २०७३, शुक्रबार
  • धिरन खत्री
  • 5225 पटक पढिएको

म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका इन्द्रबहादुर भण्डारीले ब्यवसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा साउदी कतारमा ८ बर्ष विताएर फर्किएका भण्डारी विगत ८ बर्षदेखि स्वदेशमै कृषिकर्ममा सक्रिय छन ।


आफ्नै खेतबारीमा व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका भण्डारीले अहिले बार्षिक रु ३ लाख भन्दा बढी आम्दानी गर्छन । भण्डारीले अहिले  ब्यवसायिक केरा, सुन्तला खेती संगै आलु, टमाटर, च्याउ, प्याज, मुला लगायतको व्यवसायिक खेती गरेर स्वदेशमै आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।


यसै सिजनमा  आलु बेचेर तिस हजार कमाएका भण्डारीले  केरा बाट बार्षिक  ८० हजार र  सुन्तलाबाट करिब ३० देखि ४० हजार आम्दानी हुने गरेको  बताए ।  अहिले उनको खेतमा ब्यवासायिक रुपमा ५ ओटा गोलभेडाँको टनेल  छ भने ब्यवसायिक रुपमा  च्याउ उत्पादन गर्ने घरपनि निर्माण गरिसकेका छन् ।


पहिलो लटमा  असी किलो च्याउ बेचेको र च्याउको माग पु¥याउन नसकेको उनले बताए । ‘‘ मैले उत्पादन गरेको तरकारी र फलफुलको लागि बजारको अभाब छैन, धेरैजसो गाउँघरबाटै विक्रि हुन्छ, अलि बढी उत्पादन भयो भने बजार सम्म पु¥याउँछु,’’–उनले भने ।


कृषि पेशामा लागेर आम्दानी गर्न थालेपछि घरखर्च चलाउन र बालबच्चाको पढाईलेखाईमा सहयोग पुगेको भण्डारीकी श्रीमती सुनीताले बताईन । कृषि खेतीको लागि योग्य माटो, सिचाँई गर्न पानीको स्रोत पर्याप्त भएको र आवश्यक प्राङ्गारिक मलका लागि भैँसी बाख्रा पालेर घरमै उत्पादन गरेको उनले बताए ।


साउदीको कमाईले खेतबारी किनेर त्यसमा फलफुल र तरकारी खेती गर्न थालेका भण्डारीले थोरै थोरै उत्पादन हुने कृषि खेतीलाई व्यवसायिक बनाएपछि घरखर्च चलाउन सजिलो भएको अनुभूति सुनाए । भण्डारीले जिल्ला कृषि विकास कार्यालयबाट युवा स्वरोजगार  अन्तर्गतको अनुदान, तालिम, गोष्ठी, मल, विउ पाइरहेको बताए ।


उनी अगुवा कृषकको रुपमा सम्मानीत समेत भईसकेका छन् । ‘‘ जिल्ला कृषि विकास कार्यालयसंग प्लाष्टीकको लागि आवेदन दिएको थिए, कार्यालयबाट प्लाष्टिक आउने आसाले टनेल बनाएँ, तर कार्यालयबाट प्लाष्टिक नआएपछि अहिले गोलभेडा र प्याजको विरुवा जोगाउनै मुस्किल भएको छ,’’–उनले गुनासो गरे ।
जिल्ला कृषि विकास कार्यालयका बारिष्ठ कृषि अधिकृत श्यामप्रसाद रिजालले  जिल्लामा विदेश पलायन छोडेर  ब्यवसायिक कृषि पेशामा लाग्ने युवाको संख्या बढेको बताउँदै कृषकहरुको मागका आधारमा कार्यालयले आबश्यक प्राविधिक सेवा संगै विभिन्न अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
कार्यालयबाट प्राप्त अनुदाबाट कृषि पेशामा  सुदपयोग गरि ब्यवसायिक बन्न युवाहरुलाई प्रोत्साहन गरिएको उनले बताए । कृषि कार्यालयले तरकारी, फलफूल खेतीमा ब्यवसायिक रुपमा  लागेका कृषकलाई तालिम, गोष्ठी, विउ उपलब्ध गराउँदै आएको छ । ब्यवसायिक कृषिमा लागेका अगुवा कृषकलाई कृषि कार्यालयबाट दिइने सेवासुविधामा  नछुट्याउने अधिकृत रिजालले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l