मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाब (फोटो फिचर)

  • २२ चैत्र २०७३, मंगलवार
  • 3224 पटक पढिएको

  • म्याग्दी, २२ चैत । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के पूर्वाधार र प्रचार प्रसारको अभाबले पछाडि परेको छ ।

गत बर्ष सरकारले गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरेको थियो । तर आबश्यक पूर्वाधार अभाब र प्रचार प्रसारमा भएको कमीले यथेष्ट मात्रामा पर्यटकहरु भित्रन अझै सकेका छैनन् ।

प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री सतहदेखि २ हजार ३८० मिटरको उचाईमा अबस्थित छ ।

मंगला गाउँपालिको पुर्णगाउँ , रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतको सिमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमश्रृखलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ ।
पर्यटन विकासको सम्भावनायुक्त स्थान भएपनि व्यवस्थित बस्नेखाने होटल र पदमार्गको अभाव संगै प्रचार प्रसार नहुदा यो क्षेत्र ओझेलमा परेको हो । प्रयाप्त मात्रामा पर्यटकहरु भित्रन नसकेपछि पुर्णगाउँ, झिँ र वाखेतमा सञ्चालन गरिएका होमस्टे समेत प्रभावकारी बन्न सकेको छैन् ।


यस क्षेत्रमा पुग्नको लागि पदमार्ग र सडक दुबैको पहुँच भएपनि दुबैको स्तर राम्रो नभएकाले समस्या देखिएको हालै टोड्के पुगेका म्याग्दी उद्योग बाणिज्य संघका महासचिब राजेश शाक्यले बताउनुभयो । उहाँले टोड्केमा सहज रुपमा पुग्ने वातावरण संगै त्यहाँ बस्ने र खानको लागि होमस्टे र सामुदायिक लज र होटल सञ्चालन गर्न आबश्यक रहेको बताउनुभयो ।


गुराँसे जंगल र मनोरम हिमश्रृङ्खलाको अबलोकनको लागि प्रसिद्ध मानिएको टोड्केमा पछिल्लो समय भम्रण र बनभोजको लागि आन्तरिक पर्यटकहरु पुग्नेक्रम बढेपनि पूर्वाधारको अभाबले थप प्रर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ ।


बिषेश गरि पदमार्ग र सडकको स्तरोन्नती र पर्यटकको बसोबासको लागि सामुदायिक लज निर्माणसंगै होमस्टे सञ्चालन गर्ने योजना अगाडि सारेपनि बजेट अभाबले कार्यान्वयन गर्न नसकिएको टोड्के क्षेत्रविकास कोषका उपाध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताउनुभयो।

‘‘ यस क्षेत्रको बारेमा स्थानीयले पहल गरिरहेका छन्,यसको सम्भावनालाई बाहिर ल्याईसकिएको छ, तर अझै यसको विकासले गति लिन भने सकेको छैन, यसको लागि सम्बन्धित सबै सरोकारवाला एकजुट हुन जरुरी देखिन्छ, ’’–आचार्यले थप्नुभयो ।


एकै ठाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापूच्छ«े गणेश ,गुर्जा लगायतका हिमालको मनोरम दृष्य संगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विषेशता हो । रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले टोड्के क्षेत्र सम्भावनायुक्त रहेको पहिलो पटक टोड्के पुगेका बेनीका रुद्र गुरुङले बताउनुभयो ।


अहिलेको याममा जिल्लाको विभिन्न ठाउँबाट राताम्मे फुलेको लालिगुराँसको जंगलमा रमाउनको लागि र बनभोजको लागि जानेहरुको संख्या बढेको देउराली युवा क्लब कुहुँका एकजित रोकाले बताउनुभयो ।

‘‘ तोड्के क्षेत्र विकास कोषको सक्रियतामा यहाँ विभिन्न पूर्वाधारहरु बन्ने क्रम सुरु भएको छ , तर आबश्यक मात्रामा योजनाहरु नपर्दा समस्या देखिएको छ , कम्तीमा यस ठाउँमा व्यवस्थित बस्नेखाने ठाउँ र भ्युटावर बनाउन आबश्यक छ,’’–उहाँले भन्नुभयो ।


यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि टोड्के क्षेत्र विकास कोषले विभिन्न संघ संस्थासंगको समन्वयमा टोड्केमा आबस्यक भौतिक पूर्वाधार निर्माण संगै पर्यटन गतिविधिलाई अगाडि बढाएको छ ।

भम्रणमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको सुविधाको लागि जिविस र पर्यटन कार्यालय पोखराको सहयोगमा भबन, शौचालय, सडक लगायतको केही पूर्वाधार निर्माण भएको छ ।


अहिले स्थानीयले टोडेकेमा खानेपानी सुविधा र सामुदायिक लज स्थापनाको योजनासंगै बोटानिकल गार्डेन बनाउने अबधारणलाई अगाडि सारेका छन् । जैबिक विविधतायुक्त क्षेत्र भएकाले जडिबुटी, कृषि र पर्यटन क्षेत्रलाई एकिकृत रुपमा विकास गर्न सके टोडेके क्षेत्रको विकास हुने स्थानीय युवा गजेन्द्र केसी बताउँछन् ।


कोषकै पहलमा गत बर्षको फागुनमा ‘दोस्रो टोड्के’ महोत्सव गरिएको थियो । प्राकृतिक रुपमा सुसज्जित टोड्के क्षेत्र धार्मिक दृष्टिाकोणमा समेत महत्वपूर्ण मानिन्छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको र उनका अनुयायीहरु समेत वषौंसम्म टोड्केमा बसेको स्थल अहिलेपनि संरक्षीत छ ।


टोड्केमा तत्कालिन महाप्रभुले तपस्या गरेको स्थानमा अहिले एउटा मन्दीर र आश्रम पनि छ । टोड्के क्षेत्रलाई जिल्लाका प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम, पुलाश्रम, जगन्नाथ संगै मालिकाधुरी र रिखार क्षेत्रलाई समेटेर धार्मिक गन्तव्यको रुपमा समेत विकास गर्न सकिने सम्भाबना रहेको स्थानीय प्रेमप्रसाद रेग्मीको भनाई छ ।
पुस माघ महिनामा पर्ने हिउँ र फागुन चैत्र महिनामा फुल्ने राताम्मे गुराँससंग रमाउन आन्तरीक पर्यटकहरु टोड्के पुग्नेक्रम बढ्न थालेपनि प्रयाप्त मात्रामा पर्यटकहरु भित्रने वातावरण भने अझै तयार भएको छैन् ।


प्रचुर धार्मिक एवम पर्यटकीय सम्भाबना बोकेपनि आबश्यक प्रचार–प्रसार र पूर्वाधारको अभाबमा ‘बत्तिमुनीको अध्यारो’को रुपमा रहेको टोड्के क्षेत्रमा बढी भन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्र्याउन सकेमा यसले स्थानीयको आयआर्जन र रोजगारि बृद्धि गर्नुको साथै गाउँपालिका र नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ ।