कृषि र पशु सेवा केन्द्र बन्द हुन थाले

  • ८ कार्तिक २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2029 पटक पढिएको

 


बेनी ८ कात्तिक । कर्मचारी अभावका कारण म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका कृषि र पशु सेवा केन्द्र कर्मचारी अभावमा बन्द हुन थालेका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि म्याग्दीका दुई वटा पशु सेवा र तिन वटा सेवा केन्द्र बन्द भईसकेका छन् । सरुवा गरिएका प्राबिधिक कर्मचारीको पदपुर्ती नहुँदा तिन वटा कृषि र चार वटा पशु सेवा केन्द्र कार्यालय सहयोगीले धानेका छन् ।

रघुगंगा गाउँपालिका ६ पाखापानीका दुतबहादुर पाईजाले कर्मचारी अभावमा पशु र कृषि सेवा केन्द्र करिब सात महिनादेखि बन्द भएको बताए । “पशुपंक्षीको उपचार, औषधी, विउ विजन, रोग किराको नियन्त्रण र परामर्श सेवाबाट बञ्चित भएका छौ” पाईजाले भने “जनप्रतिनिधि आएपनि कर्मचारी नभएकाले चुनावमा प्रचार गरेको जस्तो गाउँमा सिहदरबार आएको महशुस गर्न पाएका छैनौ ।”

झिँ, पाखापानी, ठाडाखानी, कुईनेमंगले, चिमखोलाका बासिन्दालाई सेवा दिदै आएको पाखापानी स्थित पशु सेवा र कृषि सेवा केन्द्रमा कार्यरत प्राबिधिकहरु छ महिना अघि सरुवा भएका थिए ।सम्बन्धित निकायले सरुवा भएका कर्मचारीको ठाउँमा अरुलाई पठाएका छैनन् । असारमा कार्यालय सहयोगीको करार अवधि सकिएकाले कार्यालय बन्द भएको हो ।

धवलागिरी गाउँपालिका २ लुलाङ, अन्नपूर्ण ६ घार, रघुगंगा ६ पाखापानी स्थित पशु सेवाको सेवा केन्द्र कर्मचारी अभावमा बन्द भएको छ । यस्तै अन्नपूर्ण गाउँपालिका ६ घार, रघुगंगा ६ पाखापानी र बेनपा ९ घतानको कृषि सेवा केन्द्र पनि बन्द भएको छ ।कृषि सेवा केन्द्र दानामा कार्यरत प्राबिधिक रुपा बिकको सुन्तला जोन कार्यान्वयन ईकाईमा सरुवा भएकाले कार्यालय सहयोगी मात्र छन् । दानाकै पशु सेवा केन्द्र पनि कार्यालय सहयोगी चिनबहादुर पाइजाले धानेका छन् । कार्यालय खोलेर बस्ने बाहेक अरु सेवा दिन नसकेको पाईजाले बताए ।   घार पशु सेवा केन्द्रका प्राबिधिक युवराज यादवको सरुवा भईसकेको छ । घारकै कृषि सम्र्पक स्थलका प्राबिधिक सरुवा भएको र कार्यालय सहयोगी गाउँपालिकाको कार्यालयमा काजमा रहेकाले बन्द भएको हो । गलेश्वर स्थित घतान कृषि सेवा केन्द्र राष्ट्रिय योजना आयोगबाट खटिएका प्राबिधिक उपेन्द्र गिरीको सेवा करार असारमा सकिएपछि कार्यालय खोल्ने सहयोगी समेत नभएर बन्द भएको छ ।
दरवाङ पशु सेवा केन्द्रका प्राबिधिक राजेन्द्र नेपालीको सरुवा भएपछि वडामा करारमा खटिएका असुन रिजाललाई निमित्त दिइएको छ । बाबियाचौर कृषि सेवा केन्द्रका प्राबिधिक निरञ्जन तिवारीको असारमा सरुवा भएपछि सहयोगी मात्र छन् । कृषि सेवा केन्द्र ताकमकी प्रमुख गिता नेपालीको समेत सरुवा भएको जानकारी आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनीले जनाएको छ ।

स्थानीय तहमा हस्तान्तरण भएपनि जनप्रतिनिधीहरुको बेवास्ताका कारण पशु र कृषि क्षेत्रका कार्यक्रम, योजना तथा बजेट नहुँदा कर्मचारीहरु निराश बनेर धमाधम सरुवा हुने क्रम बढेको बताइएको छ । निजामती र प्राबिधिक सेवामा म्याग्दीका जनशक्ति कम हुनु पनी एउटा कारण रहेको भएको निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन म्याग्दीका उपाध्यक्ष डिल्लीराम रेग्मीले बताए ।

“स्थानीय तहले कृषि र पशुको क्षेत्रमा कार्यरत कर्मचारीलाई जिम्मेवारी, अधिकार र कार्यक्रम नदिएपछि निराशा छाउनुका साथै घरपायक ठाउँमा सरुवा मिलाएर जाने क्रमसंगै सेवा केन्द्रहरु बन्द हुन थालेका हुन्” पशु सेवा प्राबिधिक समेत रहेका रेग्मीले जानकारी दिए । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा रहेका सेवा केन्द्रहरु कर्मचारी बिहीन भएका हुन् । सदरमुकाम आसपास र सुगम ठाउँका सेवा केन्द्रमा भने कर्मचारी अभावको समस्या छैन् ।

एक गाविस एक प्राबिधिक कार्यक्रम अन्तरगत वडामा खटिएका अस्थाई पशु र कृषि सेवाका प्राबिधिकहरुले पनी यन्त्र उपकरण, औषधीको अभावमा सेवा दिन सकेका छैनन् । प्राबिधिक सेवामै सिमीत हुनुपरेको उनिहरुको गुनासो छ । सेवा केन्द्रहरु बन्द हुँदा कृषि क्षेत्रमा दिर्घकालीन असर पर्ने कृषि ज्ञान केन्द्रका बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताए ।
“कर्मचारी, भवन लगायत सबै सम्पत्ती स्थानीय तहहरुलाई हस्तान्तरण गरिएपनी ब्यवस्थापन र परिचालन गर्न नसक्दा समस्या देखिएको हो” थापाले भन्नुभयो “सेवा केन्द्रहरु बन्द हुँदा कृषि क्षेत्रमा दिर्घकालीन असर पर्छ ।” कृषि उत्पादन दोब्बरले वृद्धी गरी देशलाई सम्बृद्ध बनाउने घोषणापत्र जारी गरेका दलका नेताले नेतृत्व गरेका स्थानीय सरकारबाटै कृषि क्षेत्र उपेक्षामा परेकोमा अधिकृत थापाले दुख व्यक्त गरे ।

विज वृद्धी कार्यक्रमले गत वर्ष निरन्तरता नपाउँदा म्याग्दीमा यसपालि आलु, गहुँ, धान, मकै, तोरीको विउ अभाव भएको छ । अघिल्लो वर्षसम्म म्याग्दी मकै, गहुँ र आलुको विउमा आत्मनिर्भर थियो । बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको छ । गत वर्ष मंगला गाउँपालिकाले मात्र खाद्यबालीको विउ वितरण गरेको थियो । उत्पादीत विउ बिक्री नभएपछि उत्पादन नगरेको बेनपा ९ तोरीपानी स्थित भगवती विउ उत्पादक समूहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए ।
विगतका वर्षमा कृषि विकास कार्यालयले कृषक समूहहरुलाई मुल विउ वितरण गर्दथ्यो । मुल विउबाट कृषक समूहले उत्पादन गर्ने प्रथम पुस्ताको विउ कार्यालय मार्फत कृषकहरुलाई अनुदानमा वितरण गरिन्थ्यो । एक पटकको मुल विउले तिन वर्षसम्म काम गर्छ । तिन वर्षपछि विउ परिवर्तन गर्नुपर्ने भएपनि स्थानीय तहहरुले बजेट, योजना कार्यक्रम नराखेकाले विउ अभाव भई खाद्यबालीको उत्पादनमा असर पर्ने कृषि प्राबिधिकहरुले बताएका छन् ।

सन्तोष गौतम