शिक्षक अभाबले पठनपाठन प्रभावित, विज्ञान र गणितका शिक्षक पाउँनै मुस्किल

  • २१ आश्विन २०७५, आईतवार
  • कमल खत्री
  • 2115 पटक पढिएको

म्याग्दी,२१ असोज ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन्।

यो एक प्रतिनिधिमुलक उदाहरण हो । जिल्लामा विज्ञान, गणीत, कम्युटर संगै अंग्रेजी बिषयका बिषयगत शिक्षकहरुको अभाबले पठनपाठन प्रभावित बन्दै आएको छ । जिल्लाको ग्रामीण भेगमा रहेका १ दर्जनबढी सामुदायिक विद्यालयको मावि तहमा विज्ञान शिक्षकको अभाब छ । एसईई परिक्षा नजिकीरहेको र शैक्षिक सत्रको आधा समय वितिसक्दा समेत विज्ञान लगायतका मुख्य बिषयको पढाई सुरु नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।

विद्यालयमा गत जेठमा विज्ञान बिषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि नयाँ शिक्षक नराख्दा आफुहरु मुख्य बिषयकै अध्ययनबाट बञ्चित हुनुपरेको अमर माविको कक्षा १० की छात्रा सम्झना थापाले गुनासो गरिन् । ‘‘ हामीले निरन्तर विज्ञान बिषयको शिक्षकको व्यवस्था गर्न विद्यालयलाई भनेका छौँ, तर अहिलेसम्म १ पाठको मात्रै पठाई भएको छ, परिक्षा नजिकिँरहँदा कतै अध्ययन नै नगरिकन परिक्षा दिन त पर्ने होइन् भन्ने चिन्ता थपिएको छ’’– उनले भनीन् ।

चिमखोलामा मात्रै होईन ग्रामीण भेगमा रहेका मावि तहका विद्यालयम मुख्य बिषयका बिषयगत शिक्षक अभाबले हरके बर्ष जसो कुनै न कुनै विद्यालयका विद्यार्थीहरुले पुरै कोर्स नसकिकनै परिक्षा दिनुपर्ने बाध्यता छ । विज्ञान, गणित जस्ता मुख्य बिषयमा पटक पटक विज्ञापन आह्वान गर्दा समेत शिक्षक नपाउने समस्याले ग्रामीण भेगका सामुदायिक विद्यालयहरु हैरानीमा परेका छन् ।
विज्ञान र गणितको शिक्षक पाउँनै मुस्किल
मावि तहमा विज्ञान र गणित बिषयको शिक्षक अभाब रहेकाले तल्लो तहमा रहेका शिक्षकहरुलाई नै अध्यापन गराउन लगाउनुपर्ने बाध्यता रहेको ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीले बताए । ‘‘ शिक्षक पाउनै मुस्कील छ, पटक पटक सुचना प्रकाशीत गर्दा पनि गणित शिक्षक पाउन सकेका छैनौँ, तह अनुसार बिषयगत शिक्षक उपलब्धता नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्येक्ष असर गरेको छ ’’– प्रअ सुवेदीले भने । शिक्षक सेवा आयोग मार्फत आउने शिक्षकहरु बाहिर जिल्लाको हुने र उनीहरु अधिकाँश ६ महिनादेखि १ बर्षसम्म मात्रै बसेर सरुवा भएर जाने समस्याले विद्यालयहरुमा जनशक्तिको चरम अभाब हुने गरेको छ । रिक्त रहेको दरबन्दिमा करारमा नियुक्त गर्न प्रकृयागत झण्झट संगै योग्यता र शिक्षण अध्यापन अनुमती पत्र भएका व्यक्तिहरु पाउनै मुस्किल पर्ने विद्यमान समस्या रहेको छ । जिल्लामा विज्ञान, गणित, कम्युटर र अंग्रेजी बिषयका शिक्षकहरुको अभाब रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । मुख्य बिषयहरुमध्ये विज्ञान र गणितका शिक्षकको अभाब ठुलो मात्रामा रहेको इकाइका प्रमुख दलबहादुर थापाले बताए ।
लाईसेन्स परिक्षा व्यवहारिक हुन सकेन
शिक्षक लाईसेन्सको परिक्षामा उर्तिणदर घट्दो छ । विज्ञान संकाय अध्ययन गरेकाहरुको लागि परिक्षा अव्यवहारिक हुनुले योग्यता पुगेकाहरुपनि लाइसेन्स विहिन हुँदा शिक्षक अभाबको समस्या झन बढेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा बताउँछन् । लाईसेन्स नभएकै कारण विज्ञान बिषयको शिक्षकहरु पाउन मुस्किल पर्ने गरेको सर्वोदय मावि भुरुङतातोपानी स्रोत केन्द्रका स्रोतव्यक्ति जयराम सुवेदी बताउँछन् । शिक्षक खोजीको लागि विद्यालय व्यवस्थापन समिति, प्रअहरु भौतारीरहनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । दरबन्दिमा शिक्षक नियुक्त गर्न अनुमती लगेका विद्यालयहरुले पनि शिक्षक पाउन महिनौँ लाग्ने गरेको छ । कतिपय विद्यालयहरुले ६ देखि ७ महिनासम्म पनि कुर्नुपर्ने स्थिती आएको छ । यहाँको शैक्षिक जनशक्ति अभाबले धेरै टाढाका जिल्लाहरुबाट समेत शिक्षकहरु आएर अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।
मुख्य बिषय अध्ययनप्रति चासो घट्दै
जिल्लामा उत्कृष्ट विद्यार्थीहरु नबस्ने प्रचलनले निकट भविश्यमा योग्य शैक्षिक जनशक्तिको थप अभाब हुनसक्ने देखिएको छ । कक्षा ११ देखि क्याम्पससम्म नै मुख्य बिषयहरु गणित, विज्ञान, अंग्रेजी बिषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्युन छ । विज्ञान संकायमा हाल बेनी स्थित प्रकाश माविमा कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर अध्ययन हुनेहरु पोखरा, काठमाण्डौ लगायतका ठाउँमा जाने र अध्ययन गरेपछि पनि उच्च शिक्षा अध्ययन र रोजगारिको लागि विदेश जाने प्रचलन बढ्दो क्रममा छ ।

जिल्लाभित्र रहेका शैक्षिक संस्थाहरुमा मुख्य बिषय अध्ययन गर्ने विद्यार्थी घट्दै जाने र बाहिर अध्ययन गर्न गएकाहरु नफर्कने हो भने यहाँ योग्य शैक्षिक जनशक्तिको अभाब थप बढ्ने खतरा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी बताउँछन् । यस अघि उत्कृष्ट विद्यार्थीहरु मुख्य बिषयहरु अध्ययन गरि शिक्षण पेशामा लाग्ने गरेको भएपनि अहिले अब्बल विद्यार्थीहरुको रोजाई शिक्षणतर्फ नहुँदा भविश्यमा म्याग्दीको शैक्षिक क्षेत्रको नेतृत्व गर्ने जनशक्तिबारे चिन्ता उत्पन्न गराएको सुवेदीको भनाई छ । उनका अनुसार, म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्ला बर्षहरुमा गणित र अंग्रेजी बिषय लिएर अध्ययन गर्ने विद्यार्थीको सख्ंया घट्दो रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l