बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्पः कुईनेमंगलेको जनजीवन प्रभावित
- ३० भाद्र २०७५, शनिबार
- धिरन खत्री
- 4845 पटक पढिएको
म्याग्दी ३० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । रघुगंगा नदीमा आएको बाढीले सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत मन्दिरमा क्षत्तीले कुईनेमंगलेको जनजीवन प्रभावित भएको हो ।
भदौ २७ गते बेलुकी धौलागिरी हिमालको फेदीमा पहिरोले रघुगंगा नदी थुनिएपछि आएको बाढीले दुलेखर्क स्थित रितुङ माविको तिन वटा भवनको सात वटा कक्षा कोठा र चार कोठे शौचालय बगाएको थियो । पहिरोले विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले कक्षा १० सम्मको पठनपाठन हुने १७५ जना विद्यार्थी अध्ययनरत रितुङ मावि दुई हप्ताका लागि बन्द गरिएको रितुङ माविका प्रअ खिमबहादुर छन्त्यालले बताए ।
बाढीले कटान गरेर कुईनेमंगलको खरीबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तीप्रसाद बिकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगंगाको किनारमा अवस्थित घ्यासीखर्कका १६ घर जोखिममा परेको छ ।
साहरा युवा कल्वको भवन र खेलमैदान बाढीले पुरीएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगंगा नदीमाथि रहेको झोलुङगे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माण स्थलमा बाढी परेर क्षत्ती पु¥याएको छ । छहरीका दुई घर जोखिममा परेका छन । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत आपुर्ती बन्द भएको छ । बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमिनमा समेत क्षत्ती पुगेको छ ।
दुई वटा काठको अस्थाई पुल बाढीले बगाउँदा आवत जावतमा कठिनाई भएको छ । छहरी स्थित शिवालय मन्दिर बाढीले बगाएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले क्षति पु¥याएको छ । बाढी पहिरोका कारण एक जना महिलाको ज्यान जानुका साथै तिन करोड रुपैया बराबरको भौतिक सम्पत्तीको क्षत्ती भएको छ ।
रघुगंगा गाउँपालिकाले प्रभावीत क्षेत्रको स्थलगत निरिक्षण र क्षत्ती विवरण संकलन गरि पिडितहरुलाई प्रारम्भिक राहत उपलब्ध गराएको छ । थप क्षत्ती हुन नदिन सर्तकता अपनाउन, रोकीएको पढाईलाई सूचारु र जनजिवनलाई सहज बनाउन गाउँपालिका, जिल्ला र देशविदेशमा सहयोगको लागि आग्रह गरेको वडा अध्यक्ष गमान छन्त्यालले बताए ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिचा, वडा अध्यक्ष गमान छन्त्याल, गाउँपालिका राहत ब्यवस्थापन समितिका सदस्य सचिव टिका शाहीले स्थलगत अवलोकन गरेका थिए । भने बाढी पीडितलाई राहत उपलब्ध गराएका थिए ।
बाढी पहिरो प्रभावीतको ब्यवस्थापनका लागि तत्कालीन राहत, थप क्षत्ती न्युनीकरणको पहल, पठनपाठनको ब्यवस्था र नदी कटानको दिगो रोकथामका लागि बृहत योजना सञ्चालन गर्न आवश्यक देखिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l