तिप्ल्याङ कालिगण्डकी जलविद्यूत आयोजनाको वातावरणीय प्रतिबेदन सार्वजनिक
- २१ भाद्र २०७५, बिहीबार
- कमल खत्री
- 2547 पटक पढिएको
बेनी, २१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने कालिगण्डकी नदीमा ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालिगडकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । जलविद्यूत आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको तिप्ल्याङ कालिगण्डकी हाईड्रोपावर प्रा.ली.ले वातावरणीय प्रभाब मुल्यांकन प्रतिबेदन सार्वजनिक गरेको छ । आयोजना प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका– २ ठुलोबगरमा विहिवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाको वातावरणीय प्रभाब मुल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको थियो । परामर्शदाता कम्पनी डिजार्यड ईन्जिनीयरीङ्ग कन्सलटेन्सी प्रा.लि.का वातावरण विद हरिदक्त जोसीले प्रतिवेदन प्रस्तुत गर्दै आयोजनाको वातावरणीय अबस्थाबारे जानकारी गराउनुभएको थियो ।
वडा नम्बर २ ठुलो बगर र ६ रातोपानीको सिमानामा रहेको झोलुङ्गे पुल देखि करिब २ सय मिटर माथि कालिगण्डकी नदीमा बाँध रहने यस आयोजनाको लागि वडा नम्बर ६ घारा, ७ हिस्तान को पहाडभित्र ५ हजार ८७८ मिटर लामो सुरुङमार्ग हुँदै ल्याईने पानी दोसल्लेको फेदीमा रहेको तिप्ल्याङ स्थित कालीगण्डकी नदी किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट कुनैपनि घरधुरीलाई विस्थापित गराउन नपर्ने भएपनि ५० घरधुरी प्रभावित हुने वातावरणविद जोसीले जानकारी दिनुभयो । निर्माण सुरु भएको ४ बर्षमा निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको यस आयोजनाबाट उत्पादन भएको विद्युतलाई विद्युतगृहदेखि १३ किलोमिटर माथि दानामा निर्माण हुने १३२ केभीको ट्रान्समिशन लाईनमा जोडीनेछ ।
आयोजनाका वातावरणीय प्रभाब मुल्याङ्कन प्रतिबेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जलविद्युत आयोजनाहरुले प्रकृयागत चरणमै ढिलाई गर्दा आयोजनाहरुको निर्माण कार्य पछि धकेलीने र लागत समते बढ्ने गरेको बताउँदै समयमै आबश्यक प्रकृया अबलम्बन गरि निर्माण कार्यलाई अघि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, नेकपाका नेता गोविन्द पौडेल, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिन बहादुर कार्की, राप्रपाका भिम बहादुर बानियाँले म्याग्दीमा जलविद्यूतको सम्भावना उच्च रहेको र लगानीको वातावरण समेत उपयुक्त रहेको बताउँदै छिटो निर्माण कार्य सम्पन्न गर्नेगरि अगाडी बढ्न आयोजनालाई सुझाब दिनुभएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले गाउँपालिकाभित्र निर्माण हुन लागेका जलविद्यूत आयोजनाहरुको लागि गाउँपालिकाले सकरात्मक सहयोग गर्ने बताउँदै निर्माण कार्यलाई अघि बढाउन ढिलाई नगर्न आग्रह गर्नुभयो । आयोजना निर्माण गर्ने तिप्ल्याङ्ग कालिगण्डकी हाईड्रोपावर प्रा.लि.का प्रतिनिधि उपेन्द्र गौतमले यस अयोजनालाई निर्माण सम्पन्न गर्ने गरि नै आफुहरुले प्रकृयागत कार्यहरुलाई अघि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केसमायाँ मगर, वन तथा वातावरण मन्त्रालयका सुभास शर्मा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, अन्नपूर्ण गाउँपालिका–६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल, ७ का अध्यक्ष गमप्रसाद फगामी, २ का अध्यक्ष ओमप्रसाद फगामी, १ का अध्यक्ष दिलिप कुमार गर्वुजा, रघुगंगा –१ का अध्यक्ष बिल बहादुर फगामी लगायतले मन्तव्य राख्नुभएको थियो ।
पत्रकार सन्तोष गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीयबासीले आयोजनाबाट प्रभावित हुने क्षेत्रबारे स्पष्ट जानकारी गराउन, प्रभावित क्षेत्रमा वातावरणीय र सामाजिक उत्तरदायित्वको क्षेत्रमा गर्ने सहयोग र रोजगारीको अबसर सिर्जनामा जोड दिन, आयोजनाको लागि निर्माण हुने संरचनाको बारेमा जानकारी गराउन र बाँध रहेन रातोपानी स्थित कालिगण्डकी नदी किनारमा रहेको तातोपानीको मुल संरक्षण गर्न माग गरेका थिए ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l