प्रसुती सेवामा सास्तीः झिँका महिलाले मागे “बर्थीङ सेन्टर”

  • १४ भाद्र २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 3716 पटक पढिएको

म्याग्दी, १४ भदौ । बर्थीङ सेन्टरको सुबिधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।

रघुगंगा गाउँपालिका ५ झिँकी महिला स्वास्थ्य स्वम सेवीका बिष्णु पाईजाले गाउँको स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सञ्चालन नहुँदा गर्भवती र सुत्केरीलाई सास्ती भएको बताउनुभयो । “प्रसुती सेवाका लागि हजारौ खर्च गरेर बेनी÷पोखराका अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ” पाईजाले भन्नुभयो “हुने खाने महिना दिन अघिनै बजार झरेर सुत्केरी भएपनि गरीब, विपन्न प्रसुती सुबीधाबाट बञ्चित भएका छन् ।”

सुत्केरी हुनका लागि सहरी क्षेत्रमा जाँदा न्युनतम पचास हजार रुपैया खर्च हुने गरेको छ । सरमुकाम वा प्रदेश राजधानी पुग्न नसक्ने महिलाहरु गाउँमै असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन् । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि प्रसुती गृहको आवश्यकता रहेको सुआहारा कार्यक्रमकी सामाजिक परिचालीका टकमाया थजालीले बताउनुभयो ।

वडा कार्यालयले गत शुक्रबार झिँमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी महिलाहरुले गाउँपालिकाका जनप्रतिनिधिहरुसंग प्रसुती गृह स्थापना गरिदिन माग गरेका थिए । गाउँपालिकाको स्वास्थ्य सहसंयोजक शिवप्रसाद पाण्डेका अनुसार झिँमा गत आर्थिक वर्षमा १८ जना सुत्केरी भएका छन्् ।

रघुगंगा गाउँपालिकाका ८ वटा मध्य ३ वटा स्वास्थ्य चौकीमा मात्र बर्थीङ सेन्टर छन् । पाँच वटा वडाका स्वास्थ्य संस्थामा अझै बर्थीङ सेन्टर स्थापना हुन सकेको छैन् । बेग, दग्नाम, चिमखोला, कुईनेमंगले र झिँ स्वास्थ्य चौकी प्रसुती गृह बिहीन छन् । पिप्ले, भगवाती र पाखापानी स्वास्थ्य संस्थामा मात्र बर्थीङ सेन्टर छन् ।

जनशक्ति भएपनि भवन, औजार लगायत पूर्वाधारको अभावका कारण प्रसुती केन्द्र सञ्चालन गर्न नसकिएको झिँ स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द्र प्रसाद जयसवालले बताउनुभयो । भवन निर्माणका लागि तत्कालीन झिँ गाविसबाट बजेट बिनियोजन गरेर चार रोपनी १ आना जग्गा समेत खरिद गरिएको छ ।

पाँच लाख रुपैयामा जग्गा किनेपनी योजनाको अभावमा भवन निर्माण हुन नसकेको हो । जग्गा खरिदमा वडा कार्यालयबाट समेत दुई लाख रुपैया लगानी भएको छ । हाल महेन्द्र माविको स्वामित्वको जग्गामा रहेको भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । सानो र साँघुरो भवनमा सेवा प्रवाहमा कठिनाई भएको छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले यस वर्ष झिँमा प्रसुती केन्द्र सञ्चालनका लागि पालिकाले एक लाख रुपैया बिनियोजन गरेको जानकारी दिनुभयो । आवश्यक औजार र पूर्वाधारको ब्यवस्था गरेर प्रसुती गृह सञ्चालन गर्ने र नयाँ भवन निर्माणका लागि पहल गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
“गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा प्रसुती गृह स्थापना गर्न प्रक्रिया थालेका छौ । जनताको स्वास्थ्य प्रती संवेदनशिल भएर लागेका छौ” अध्यक्ष भण्डारीले भन्नुभयो “प्रसुती गृह स्थापना भएपछि दुर्गम ग्रामिण क्षेत्रका महिलाहरुलाई राहत मिल्नेछ ।”

उहाँले स्वास्थ्य सेवाको आधार मानिएका महिला स्वास्थ्य स्वमसेवीकाहरुका लागि समेत गाउँपालिकाले बिशेष सुबिधाको व्यवस्था गरेको जानकारी दिनुभयो । मासिक एक हजार रुपैया यातायात खर्च र दुई सय रुपैया सञ्चार खर्च स्वमसेवीका लाई उपलब्ध गराउने नितीगत निर्णय भएको छ । रघुगंगामा ७२ जना महिला स्वास्थ्य स्वमसेवीकाहरु कार्यरत छन् ।

रिखार दैनीकबाट साभार

सन्तोष गौतम