रुप्से झरना र अन्धगल्छीको एकिकृत गुरुयोजना तयार

  • ९ श्रावण २०७५, बुधबार
  • गोपाल छन्त्याल
  • 2532 पटक पढिएको

म्याग्दी, ८ साउन । अन्नपूर्ण–३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकिकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाईएको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत पर्ने रुप्से र अन्धगल्छीलाई चार बर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरि गुरुयोजना बनाईएको हो । वडा कार्यालयले बेनीस्थित डेल्टा इञ्जिनियरिङ सँग सहकार्य गरेर तयार पारेको गुरुयोजना अनुसार गाउँपालिका, प्रदेश र संघीय सरकारसँग बजेटको पहल गरिने वडाअध्यक्ष नरसिंह बहादुर पूर्जाले जानकारी दिए ।

‘यो दुई पर्यटकीय गन्तव्य अब वडाको मात्रै सम्पत्ति रहेन, त्यसैले यसको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएका हौँ’, उनले भने, ‘जुनसुकै निकायबाट आउने बजेट अब यहि गुरुयोजनाको अधिनमा रहेर पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।’ तीन खण्डमा बग्ने रुप्से झरना र अन्धगल्छीमा यसअघि साविक जिल्ला विकास समिति, गाविसको पहलमा पदमार्ग र भ्यूटावर निर्माण गरिएको थियो । गुरुयोजनामा अहिले निर्माण भएका पदमार्गको स्तरोन्नति र विस्तार, भ्यूटावर थप, अन्धगल्छी अवलोकनका लागि पुल, रुप्से झरनाको हरेक खण्डमा विरुवा रोपण र प्रत्येक खण्डलाई तालको स्वरुप दिइनुपर्ने उल्लेख छ । अन्धगल्छी र झरनाको बीचमा वनभोजस्थल, व्यवस्थित पार्किङस्थल, रुप्से झरनाको माथिल्लो भ्यूटावरमा पुग्न सडक विस्तार र दुबैतर्फ स्वागत गेट निर्माणको प्रस्ताब गरिएको इञ्जिनियर विष्णु रिजालले बताए ।

‘झरनाको प्रत्येक खण्डलाई ताल बनाउने, अन्धगल्छी अवलोकनका लागि बनाईएको भ्यूटावरले पुरै भाग देखिदैन, त्यसैले अवलोकनका लागि वारिपारि जोड्ने गरि पुल, वनभोजस्थल र व्यवस्थित पार्किङस्थल निर्माण बढी खर्च पर्ने देखिएको छ’, इञ्जिनियर रिजालले भने, ‘यति पूर्वाधार बनाउन सकियो भने अहिले भन्दा पाँच गुणा पर्यटक यस क्षेत्रमा पुग्ने अनुमान गरेका छौँ ।’ मुस्ताङ भ्रमणमा जाने यात्रुहरु एक पटक रुप्से झरना र अन्धगल्छी अवलोकन गरेरै फर्कने गरेका छन् । गाउँपालिकाले त्यहाँ पुग्ने पर्यटकको तथ्यांक संकलनको व्यवस्था गरेको छैन । तर, पछिल्लो समय घुमफिरका लागि आउने स्वदेशी पर्यटकको सँख्या बढी छ । पर्यटकलाई लक्षित गरि वडा कार्यालयले रुप्से र अन्धगल्छीको बीच भागमा सार्वजनिक शौचालय निर्माण गरेको वडाअध्यक्ष पूर्जाले जानकारी दिए ।

पानीको मात्रा बढ्ने भएकाले हिउद भन्दा बर्षायाममा रुप्से बढी मनमोहक देखिन्छ । वि.स १९७५ सालमा ७५ पैशामा हुलाकी टिकटमा समेत रुप्सेको फोटो टाँसिएको थियो । ‘रुप्से र अन्धगल्छीको बीचमा शौचालय थिएन अहिले त्यो आवश्यकता पनि पूरा भएको छ’, उनले भने, ‘अब यहि क्षेत्रमा होटल व्यवसाय पनि विस्तार गर्ने योजना छ ।’ अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले झरना र अन्धगल्छीको अतिआवश्यक ठाउँमा गाउँपालिकाले सहयोग गरेको बताए । ‘थप बजेटका लागि हामीले माथिल्लो निकायमा दबाब दिएका छौँ, यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्यौँ भने त्यसले यहाँको नागरिकको जीवनस्तरमा निकै परिर्वतन ल्याउनेछ’, उनले भने, ‘गुरुयोजनाले परिकल्पना गरेका पूर्वाधार निर्माणमा सरकार, पर्यटन व्यवसायी र स्थानीयको समान दायित्व रहन्छ ।’

गोपाल छन्त्याल