प्रसिद्ध धार्मिक स्थल रिखार पर्यटकको पर्खाइमा (फाेटाे फिचर)

  • १४ बैशाख २०७५, शुक्रबार
  • धिरन खत्री
  • 4511 पटक पढिएको

म्याग्दी, १४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘रिखार क्षेत्र’ प्रचार प्रसारको अभाबले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिक स्थल ओझेलमा परेको हो । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको रिखारमा जनै पूर्णिमाको दिन बिशेष पुजा आजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन सुन्य हुने गरेको स्थानीयबासी बताउँछन् ।


रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचार प्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको स्थानीय पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । ‘‘ यहाँ आउने जो कोही पनि मख्ख परेर फर्कने गरेका छन्, तर भौगोलिक रुपमा विकटता रहेकाले यस क्षेत्रको बारेमा प्रचार प्रसार हुन सकेको छैन,’’– सचिब पुनले भन्नुभयो । हिमालको फेदीमा रहेको तलाउमा डुंगा आकारको ढुंगामाथि रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । डुङ्गा आकारको उक्त ढुंगाको कुवामा कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो ।

यस क्षेत्रको विकास र संरक्षणसंगै प्रचार प्रसारको लागि पहल गरिरहेको रिखार क्षेत्र संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । धौलागिरी बेशक्याम्पसँगै करिब ४ हजार ५ सय मिटर उचाईमा अवस्थित रिखार भौगोलिक हिसाबले धेरै रमणीय ठाउँको रुपमा चिनिदै आएको छ ।धौलागिरि हिमालको आधार शिविर पुग्न नजीकको दुरीमा पर्ने र पवित्र तिर्थस्थल रिखारको दर्शन गर्न सकिने यो क्षेत्रमा झोलुङ्गे पुल, व्यवस्थित पदमार्ग , खानेपानी, थप धर्मशाला लगायतका पूर्वाधारहरु निर्माण गर्न गाउँपालिकाबाट यथेष्ट बजेट विनियोजन गर्न आबश्यक रहेको समितिले जनाएको छ ।


रिखार क्षेत्रको दर्शन तथा पुजापाठ र भम्रणमा आउने तिर्थयात्रीहरुको लागि पदमार्ग निर्माण, प्रचार प्रसारमा मालिका गाउँपालिकाको हिदीका ६५ बर्षिय बाबा गम बहादुर शेरपुञ्जाले सप्तऋषिको मुर्ति प्रतिस्थापन र पदमार्ग , खानेपानी लगायतको पूर्वाधार निर्माणमा सहयोग गर्नुभएको छ । यस क्षेत्रमा सप्त ऋषि एवम पौलत्स्य ऋषि र स्वर्गद्धारी महाप्रभुले समेत तपस्या गरि ज्ञान आर्जन गरेको धार्मिक विश्वास रहेको छ ।

माघ फागुनमा पर्ने हिउँ र चैत बैशाखमा फुल्ने लालीगुराँस, चाँप लगायतका सुन्दरताले मोहीत पार्ने यस क्षेत्रमा जाने पर्यटक एवम तिर्थयात्रीहरु बेनी हूँदै दग्नामसम्म सवारी यात्रा मार्फत र त्यहाँदेखि दरमिजा, चिमखोला , नक्कलडाँडा, खरिबोट , घ्यासीखर्क, दुवाडी हुँदै पात्लेखर्कमा पुगर बास बस्न सक्छन भने त्यहाँदेखि एक विहानको यात्रामा रिखार मन्दिर र एक दिनको यात्रामा धौलागिरि आधार शिविर पुग्न सक्छन् । मनोरम हिमशृङ्लाको अवलोकन गर्न सकिने यो क्षेत्रमा पाईने दर्जनौ प्रकारका जडिबुटी र डाँफे, मृग , कस्तुरी, नावर, झारल, लगायतका जंगली जनावरहरुलाई नजीकबाट अवलोकन गर्न पाउनु यहाँको थप विशेषता हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l