पर्यटनकाे प्रभाबः चिया खाने ठाउँ ‘घोडेपानी’ बन्यो जिल्लाकै प्रमुख गन्तव्य (फोटो फिचर)

  • ६ बैशाख २०७५, बिहीबार
  • कमल खत्री
  • 6564 पटक पढिएको

म्याग्दी, ६ वैशाख । करिब चार दशक अगाडीसम्म अहिलेको ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटोमा चिया खाने थलोको रुपमा चिनिन्थ्यो । पोखरादेखि उल्लेखरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि बनाएको गोठमा चिया पसल राखेका थिए । तर हिजोका तिनै गोठहरुमा राखिएका चिया पसलहरुमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित घोडेपानी पर्यटनको सम्भावना उजागरले छोटो समयमै विकसीत र पर्यटकीय दृष्टिकोणमा उत्कृष्ट गन्तव्यको रुपमा विकास भएको हो । यो क्षेत्र अहिले म्याग्दीको मात्रै नभईकन अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रमा राखिएका गोठहरुमा खिवाङका बलसिंह गर्वुजाले पहिलो पटक चिया पसल राखेका थिए । ‘‘यहाँ घास प्रशस्त पाइने भएकाले गोठहरु राख्ने चलन थियो, पछि गर्वुजाले चिया पसल राखे, उनीसंगै कोबाङबाट आएका कान्छो थकाली भनेर चिनिने व्यक्तिले पनि चिया पसल गरे, यो शृङ्खला बढ्दै गएपछि होटलहरु खुल्न थालेका हुन’’–वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले भन्नुभयो ।

                                  पुरानाे घाेडेपानी । तस्बिर ः देवेन्द्र पुर्जा ।
उहाँका अनुसार, स्वर्गिय मेजर टेक बहादुर पुनले घोडेपानीमा पहिलो पटक बास बस्ने खालको होटल खोल्नुभएको थियो। यस अघि तिर्थयात्री र नुन बोक्नेहरु उल्लेरीमा बास बसेर घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । घोरेपानीको शिरमा दर्जनौ हिमालहरुलाई एकै ठाउँबाट अवलोकन गर्न सकिने डाँडोलाई मेजर पुनले नै ‘पुनहिल’ भनेर नामाकरण गर्नुभएको थियो । स्थानीयबासीले पछि उनै पुनको स्मृतिमा पुनहिलमा भ्यु टावर निर्माण गरेका हुन् । स्थानीय अगुवा हरि बहादुर पुनको डिजाइनमा स्थानीयबासीको श्रमदान मार्फत पुनहिलबाट दृष्य अवलोकनको लागि २०३५ सालमा काठको टावर बनाईएको थियो ।

काठको टावर दिगो नभएप्छि मेजर पुनकै ज्वाँई लेप्टेन राजु पुनको पहलमा चन्दा संकलन गरि २०५७ सालमा अहिले रहेको आकर्षक र पक्कि भ्यु टावर निर्माण गरिएको हो । टावर निर्माण पछि पर्यटकहरुलाई थप आकर्षण बनिरहेको छ । घोडेपानीमा पर्यटक आगमन हुन थालेको छोटो समयमै यहाँको विकासले फड्को मारेको छ । सुरुवातका चिया पसलहरु अहिले प्राय सबै सुविधा सम्पन्न होटलमा रुपान्तरण भएका छन् । पोखरा–बागलुङ–बेनी सडक नबन्दा सम्म मुक्तिनाथ दर्शन गर्न जाने तिर्थयात्रीहरुको गोरेटो बाटो पर्ने यस क्षेत्रमा अहिले २३ वटा सुविधासम्पन्न होटलहरु खुलेका छन् ।

हरेक बर्ष पर्यटकको आगमन बढेसंगै होटल व्यवसायिहरुले क्षमता विस्तार गर्दै लगेका छन् । सुरुवातमा विदेशी पर्यटकहरु मात्रै आउने गरेपनि पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुको आगमन ह्वात्तै बढेको घोरेपानीका होटल व्यवसायि टेकसर बुद्धुजा पुनले बताउनुभयो । ‘‘ पर्यटनको उजागरले विकासमा सहयोगी बन्छ भन्ने उदाहरण घोडेपानी हो, घुम्न आउने विदेशी पर्यटकहरुले आफ्नो देश फर्किएपछि यहाँको सुन्दरताको बारेमा गर्ने सकरात्मक सन्देश प्रवाहले पनि यो क्षेत्रमा पर्यटन विकासमा ठुलो सहयोग ग¥र्यो ’’–पुनले भन्नुभयो । पछि अन्नपूर्ण संरक्षण आयोजनाले समेटीएपछि यस क्षेत्रको बारेमा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा थप सहयोग पुगेको थियो ।

पर्यटनको विकास भएको छोटो समयमै घोडेपानी क्षेत्रमा विकास निर्माणले पनि उक्तिकै फड्को मारेको छ । पर्यटकहरुको लागि होटल व्यवस्थापन उपसमितिकै पहलमा झण्डै १ करोडको हाराहारीमा लगानी गरि पदमार्ग निर्माण भएका छन् । चित्रे हुँदै घोडेपानी, घोडेपानीदेखि पुनहिल र घान्दु्रक जाने पदमार्गहरुमा चिटिक्क मिलेको सिढी चिनेका पदमार्ग बनाईएका छन् । सरकारको न्युन सहयोगमा समुदायकै पहलमा यहाँ भएको विकासमा पर्यटनको ठुलो योगदान रहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष शुसिल पुनले बताउनुभयो । उहाँका अनुसार, स्थानीयकै लगानीमा पदमार्ग संगै तीन ठाउँमा सार्वजनिक सौचालय, विभिन्न ठाउँमा प्रवेशद्धारहरु समेत निर्माण गरिएको छ ।

पर्यटन विकासले नै समुदायकै पहलमा यहाँ सञ्चारको पहुँच विस्तार, खानेपानी, बाटोघाटो निर्माण, पर्यटकहरुको लागि सन्देश मुलक बोर्ड राख्ने, विद्यालय स्थापना गर्ने, लगायतका उल्लेख्य उपलब्धी सम्भव भएको स्थानीयबासी समेत रहेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन बताउँछन् । ‘‘ पर्यटनको विकासले समृद्धि सम्भव छ भन्ने उदाहरण घोडेपानी बनेको छ, यहाँका अन्य पर्यटकीय गन्तव्यहरु पनि विस्तारै उजागर हुँदैछन्, यस गाउँपालिकाको जोड नै पर्यटन र जलविद्युतको विकासमा केन्द्रित छ’’– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । घोरेपानी क्षेत्रमा बार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रने गरेका छन् ।

यहाँ पर्यटकहरुलाई थप आकर्षित गर्न पदमार्गलाई नियमित सरसफाई गर्ने व्यवस्था गरिएको छ भने प्लाष्टिक मुक्त बनाईएको छ । यस क्षेत्रमा आउने पर्यटकहरुको लागि समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल यस क्षेत्रको पर्यटकहरुको प्रमुख आकर्षण हो । घोरेपानीमा बास बसेका पर्यटकहरु करिब १ घन्टाको पैदल यात्रापछि पुनहिलमा पुगेर मनोरम हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् ।

गुर्जा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े निलगिरि लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख बिशेषता हो । वरीपरि जंगलको बिचमा रहेको अग्लो डाँडामा बनाईएको भ्यु टावरबाट एकै नजरमा सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्दा पर्यटहरु लोभिएर फर्कने गरेका छन् ।

पुनहिलको भम्रणमा पहिलो पटक आएकी नर्वेकी बस्लष्टक नाम गरेकी पर्यटकले पुनहिलबाट देखिएको दृष्यले आफुलाई फेरी पनि यस क्षेत्रको भम्रणमा आउने इच्छा जागेको प्रतिकृया दिनुभयो । ‘‘ यस्तो मनमोहक ठाउँमा म पहिलो पटक आएकी हुँ, एकै ठाउँबाट सबै हिमाल देख्न पाईने, लालिगुराँसको जंगलमा समय विताउँदा समय गएको थाहा नै नपाईने रहेछ, ’’– उहाँले भन्नुभयो । बसन्त ऋतुसंगै ढकमक्क फुलेका लालिगुराँसमा रमाउन यस क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेको छ ।

८ हजार मिटर भन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमालको रेञ्जमा पर्ने झण्डै २० बढी हिमचुचुराहरुलाई नजीकबाट नियाल्न सकिने पुनहिलमा चैत्र बैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस र पुस माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटकहरुको भिड लाग्ने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका सचिब रन बहादुर पुन बताउनुहुन्छ । घोरेपानीमा पुग्न कास्कीको बिरेठाँटी– उल्लरी –घोरेपानी, नयाँपुल–घान्द्रुक–घोरेपानी, म्याग्दीको नागी–महरे–फुलवारी–घोरेपानी र तातोपानी–घार– शिख हुँदै घोरेपानी पुग्न सकिने गरि पदमार्गहरु सञ्चालनमा छन् ।  रासस

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l