दुबईको जेलमा ६३ नेपाली ६ महिना जेल र ५ लाख जरिबाना

  • १९ फाल्गुन २०७३, बिहीबार
  • 2435 पटक पढिएको

काठमाडौं, १९ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) सरकारको तथ्यांकअनुसार त्यहाँ २ लाख ४ हजार १ सय ६ जना वैदेशिक रोजगारीमा छन् । यहाँस्थित म्यानपावर व्यवसायी भने त्यसमा सहमत छैनन् । उनीहरूका अनुसार ६ लाखको हाराहारीमा नेपालीहरू विभिन्न सिलसिलामा युएई पुगेका छन् ।

तीमध्ये ६३ जना नेपाली अहिले त्यहाँको कारागारमा जेल जीवन व्यतीत गरिरहेका छन् । वैदेशिक राजगारीमा जानेहरूले संयुक्त अरब इमिरेट्सको नियम कानुन बुझेका हुँदैनन् । उनीहरूले नेपालजस्तै ठानेर गल्ती गर्छन् र प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

नेपालमा मदिरा सेवन गरेर सवारीसाधन चलाउँदा एक हजार जरिबाना तिर्नुपर्छ । तर युएईमा भने सोही प्रकृतिको गल्ती गरेमा १५ हजार दिराम अर्थात ४ लाख ५० हजार नेपाली रुपैयाँ जरिवाना तथा ५ महिना एक वर्ष सम्म कैद सजाय हुन्छ । उक्त मुद्दामा अहिले युएईका दुइटा जेलमा ४२ जना नेपाली कैद भुक्तान गरिरहेका छन् । युएईकै दुइटा कारागार अबबादवा जेल र अलअविर जेलमा ६३ जना नेपाली रहेको त्यहाँको सरकारले जनाएको छ ।

युएईस्थित नेपाली दूतावासले अबबादवा जेलमा रहेका ९ जनाको तथ्यांक पत्ता लगाएको छ । त्यस्तै अलअविर जेलमा रहेका १० जनाको तथ्यांक आफूसँग रहेको दूतावासको भनाइ छ । जेलमा रहेका अन्यको विवरण संकलन गर्ने काम भइरहेको कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताए ।उनका अनुसार ६३ जनामध्ये २७ जना मदिरा सेवन गरी सवारी चलाएको अभियोगमा, १० जना हत्या अभियोगमा, ५ जना लुटपाटमा संलग्न भएको अपराधमा, २ जना किर्ते कागज र अन्य विभिन्न कसुरमा गरी ११ जना जेल परेको विवरण दूतावाससँग छ ।

कुन जेलमा कति ? उनीहरुको गल्ती र सजाय

दार्चुलाका अमरबहादुर बम हत्या अभियोगमा २००३ देखि अबबादवा कारागार दुबईमा सजाय भुक्तान गरीरहेका छन् । डढेलधुराका जयबहादुर धामी चोरी तथा लुटपाट मुद्दामा सन २०१४ देखि अबबादवा कारागार सजाय भुक्तान गरीरहेका छन्, उनलाई ८ वर्ष जेल सजाय तोकिएको छ ।

तनहुँका पूर्णबहादुर गुरुङ मदिरा सेवन गरी सवारी दुर्घटना गराएको मुद्दामा अबबादवा कारागार छन्, उनको सजाय सुनाउन बाँकी छ । पाल्पाका चुराबहादुर गहलाई हत्या अभियोगमा २०१४ देखि सोही जेलमा आजीवन जेल सजायँ तोकिएको छ । नवलपरासीका भुवनन्द भट्टराईलाई मानसीक योतना दिएको अभियोगमा सन् २०१४ जुन १२ देखि आजिवन जेल सजाय तोकिएको छ ।

त्यसैगरी इलामकी अम्रिका देवानलाई पनि मदिरा सेवन गरी सवारी चलाएर दुर्घटना गराएको अभियोगमा १५ हजार युएई दिराम जरिवाना र ६ महिना जेल सजाय तोकिएको छ । त्यस्तै निरबहादुर राईलाई लुटपाटमा ५ वर्ष जेल तोकिएको छ भने, सुनसरीकी लक्की थापालाई हत्या अभियोगमा १० वर्ष जेल सजाय तोकिएको छ । त्यस्तै कास्कीका मनिस बराललाई १० वर्ष जेल सजाय तोकिएको दूतावासले बताएको छ । यस्तै, अमिर ठकुरीलाई मानसीक योतना दिएको अभियोगमा ४ वर्ष जेल सजाय तोकिएको नेपाली दूतावास बताउँछ ।

यसैगरी झापाका विष्णुप्रसाद उप्रेदीलाई अबबादवा जेल अबुदाबीमा हत्या २ लाख युएई दिराम जरिवाना र ५ वर्ष ६ महिना जेल सजाय तोकेको छ । अर्घाखाँचीका एकबहादुर बस्याल मदिरा सेवन गरी हत्या गरेको अभियोगमा २०१३ देखि जेलमा छन्, उनको बाँकी सजायँ फैसला हुन बाँकी छ । त्यस्तै धुनषाका वीरेन्द्र शाह हत्या अभियोगमा २०१६ देखि जेलमा छन्, उनको पनि फैसला हुन बाँकी छ ।

तेहथुमका खड्बहादुर जोगीलाई २ लाख युएई दिराम जरिवाना र ५ वर्ष जेल सजायँ तोकिएको छ । त्यसैगरी विवाइसिङ डोनलाई धम्की तथा मानसीक यातनाको अभियोगमा ४ वर्षदेखि जेलमा राखिएको छ । त्यसैगरी झापाका पुरन सवा, सागर धिमाल र अनिलकुमार भट्टराईलाई लागुऔषध कारोबार गरेको अभियोगमा ४–४ वर्ष जेल सजाय तोकिएको छ ।

ललितकुमार मण्डललाई लुटपाट मुद्दामा २ हजार युएई दिराम जरिवाना र ३ वर्ष जेल सजाय तोकिएको छ ।

बाँकीको मुद्दा र विवरण संकलन भइरहेको नेपाली दूतावासको भनाइ छ ।

“कुन जेलमा कति र कहाँ को–को छन् भन्ने बारेमा यहाँको सरकारले कुनै जानकारी दिँदैन्, हामीले हाम्रा नागरिक कुन जेलमा छन् भन्दै खोज्दै जानसपर्छ, निकै गाह्रो हुन्छ” नेपाली दूतावास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टण्डनले भने, “विभिन्न कसुरमा जेल परेका नेपालीहरूको बारेमा हामीलाई यहाँको सरकारले आधिकारी जानकारी दिँदैन ।”

“हामीले धेरै समय लगाएर प्रत्येक कारागारमा पुगेर जेलमा रहेका नेपालीहरूको जानकारी लिएका हौँ, अझै थुप्रैको सूचना लिन बाँकी छ,” उनले प्रष्ट्याए ।

“नेपाल जस्तो यहाँ कानुन छैन, यहाँको कानुन र नेपालको कानुन धेरै फरक छ, त्यसैले नेपालीहरू गल्ती गर्न डराउँदैनन् र कानुनको फन्दामा पर्छन्,” उनी थप्छन्, “गल्ती गरेपछि यहाँ माफी पाइँदैन । पक्राउपछि तत्कालै जेल चलान हुन्छ र बाँकी सजायँ अनुसन्धानपछि निक्र्यौल हुन्छ ।”

उनका अनुसार धेरैजसो मदिरा पान गरेर बाटामा हिँड्दा पक्राउ पर्छ । भन्छन्, “यहाँ मदिरा खाएर हिँड्न पनि मिल्दैन, मदिरा खाएर हिँडडुल गर्नेले यहाँको सरकारलाई कर तिरेर लाइसेन्स अनिवार्य लिएको हुनुपर्छ ।

-बाह्रखरी