२९ वर्षअघि खरिद गरेको बोइङ एकहप्तामा लिलाम गरिँदै

  • १८ फाल्गुन २०७३, बुधबार
  • 2063 पटक पढिएको

sd

काठमाडौं, १८ फागुन ।  “बोइङ कम्पनीले विमान उत्पादन गरेको चार वर्षमै हामीले खरिद गर्यौं । दक्षिण एसियामै यस्तो सुविधासम्पन्न विमान खरिद गर्ने हामी पहिलो राष्ट्र थियौं,” अघिल्लो महिना नयाँ विमान (ए ३३०–२०० एयरबस) खरिद प्रक्रियाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भन्दै थिए, “हामी यो विमान लिएर विदेश जाँदा विभिन्न देशका ठूलाठूला मान्छेहरूको हाम्रो विमान हेर्न घुँइचो लाग्थ्यो ।”

कंसाकारले कुरा गरेको विमान निगमले २९ वर्षपहिले खरिद गरेको नाइनएन–एसीए कल साइन भएको बोइङ ७५८–२०० सिरिजको बोइङ हो ।

त्यही विमान अहिले निगम लिलाम गर्ने अन्तिम प्रक्रियामा छ । निगम एक हप्तामा अमेरिकी जेट विमान बोइङ लिलामका लागि सूचना जारी गर्दैछ ।

२९ वर्षअगाडि निगमले ल्याएको विमान लिलामका लागि सञ्चालक समितिको बैठक बसेर लिलामका लागि सूचना जारी गर्न लागेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

“सञ्चालक समितिका सबै सदस्य अहिले काठमाडौंमा उपलब्ध नभएकाले लिलामका लागि सूचना निकाल्न नसकिएको हो,” श्रेष्ठले भने, “बढीमा अबको एक हप्ताभित्र समितिको बैठक बस्छ र उक्त बैठकले अनुमति दिएपछि हामी लिलामको सूचना निकाल्छौं ।”
निगमले विमान लिलामका लागि स्वीट्जरल्यान्डको परामर्शदाता कम्पनी फिनटेक एभियसन सर्भिसेजसँग राय पनि लिइसकेको छ । फिनटेकले १५ लाख डलर अर्थात् करिब १६ करोड रुपैयाँमा विमान लिलाम गर्न सकिने सुझाव दिएको छ ।

“यो रकममा १० प्रतिशतसम्म कम वा धेरै मूल्य तय गर्न सकिन्छ,” प्रवक्ता श्रेष्ठले भने । फिनटेकले विमानका सबै उपकरणको मूल्यांकन गरेर लिलामको मूल्य निर्धारण गरेको हो ।

विमान लिलाम बिक्री बढाबढमा राखिएपछि जसले सबैभन्दा धेरै कबोल गर्छ, उसैलाई निगमले बेच्नुपर्ने हुन्छ ।
श्रेष्ठका अनुसार निगमले २९ वर्षअगाडि उक्त विमान १ अर्ब ३० करोडमा खरिद गरेको थियो । “२९ वर्षअगाडि एक डलरको भाउ २३ नेपाली रुपैयाँ थियो,” श्रेष्ठले भने ।

आइनएन–एसीए अहिले यत्तिकै थन्किएर बसेको छ । “विमान करिब ८ महिनादेखि थन्किएको छ, यो अब यात्रु बोक्नका लागि प्रयोगमा आउन सक्दैन,” श्रेष्ठले भने, “मर्मत गरेर कार्गोका लागि प्रयोगमा ल्याउन सकिन्छ । तर त्यो निकै महँगो पर्छ ।”

कंसाकारले विमान तत्काल नबेचे कबाडीको भाउमा बेच्नुपर्ने अवस्था आएकाले अहिले उडाउन सकिने अवस्थामै लिलाम गर्न लागिएको बताए । “हामीले यस अगाडि विमान उडान गर्न नसक्ने अवस्थामा भएकाले पार्ट पार्ट गरेर लैजानुपरेको थियो, त्यो अवस्थामा भन्दा अहिले नै लिलाम गर्दा राम्रो हुन्छ र केही रकम आउँछ भनेर उडाउन सक्ने अवस्था हुँदाहुँदै लिलाममा लैजना लागेका हौं ।”

निगमले यो विमान लिलाम गरेपछि अहिले उडानमा रहेको बोइङ नाइनएन–एसीबी पनि केही समयपछि लिलामीमा लैजाने बताइसकेको छ ।

बोइङ कम्पनीले अहिले बोइङ ७५८–२०० सिरिजका विमान उत्पादन गर्न छोडिसकेको छ । उत्पादन कम्पनी बन्द भइसकेको र मर्मतका लागि पार्टस्को अभावसँगै महँगो पर्ने भएकाले विमान लिलाम गर्दा नै फाइदा हुनेभएपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

-बाह्रखरी