महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’
- २४ फाल्गुन २०८२, आईतवार
- 5 पटक पढिएको
म्याग्दी(बेनी), २३ फागुन । म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो। निर्वाचित उम्मेदवार र दलका नेता–कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो। तर शनिबार बिहान सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका महावीर पुनको जितमा भने फरक अभ्यास देखिएको छ।
पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुनेखालको विजयी ¥याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गर्नुभएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उहाँलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए।
मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउनुभयो। “मुख्यगरी शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ। जनताले भोट दिएपछि म निर्वाचित भएँ। अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ। मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु,” पुनले भन्नुभयो।
निर्वाचनमा कतिपय उम्मेदवारले विजयपछि ¥याली गर्ने गरेको उल्लेख गर्दै उहाँले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताउनुभयो। “चुनावमा विजयी भएपछि धेरै मतदाताले बेनी बजारमा विजयी उत्सव मनाउनुपर्ने भन्दै आग्रह गरिरहेका छन्। कतिपय साथीभाइले यति ठूलो खुसीमा किन उत्सव नगर्ने भन्नुभएको छ। तर मैले सार्वजनिक रूपमा विजयी उत्सव ¥याली नगर्ने घोषणा गरिसकेको छु,” पुनले भन्नुभयो।
उहाँले निर्वाचनबाट एक जना मात्र विजेता हुने र अन्य उम्मेदवारहरू पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताउनुभयो।
हरेक विजयी उत्सवमा धेरै मानिसको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै उहाँले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गर्नुभयो। साथै, जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब ठाकुर प्रसाद आचार्यले बिजयी उत्सव मनाउने नाममा विभिन्न विकृति बढीरहेको अवस्थामा पुनले शान्त र मर्यादित तवरले खुसी साट्ने अभ्यासको थालनी गरी जिल्लामा नयाँ सन्देश दिएको बताउनुभयो ।
अन्तरिम सरकारका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहनुभएका पुनले निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले विजय हासिल गर्नुभएको हो। पुनले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाउनुभयो। त्यसैगरी नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६, नेकपाका अर्जुन थापाले ३ हजार ५२९ र रास्वपाका युवराज रोकाले १ हजार ५३० मत प्राप्त गर्नुभएको छ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पुनलाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले औपचारिक रूपमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।
