कुमारी बहुउदेश्यीय सहकारीको रकम अपचलन प्रकरणः पीडितको उजुरी संकलन गर्दै प्रहरी

  • २४ माघ २०८१, बिहीबार
  • 967 पटक पढिएको

म्याग्दी, २४ माघ । बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएको बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाबाट पीडित भएकाहरुको विवरण संकलन गर्न थालिएको छ । सहकारीका पूर्व सञ्चालक र व्यवस्थापकहरुले शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसंधान अघि बढाएसंगै प्रहरीले पीडितहरुको विवरण र बचत गरेको रकमको विवरण संकलन गर्न लागेको हो ।

बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित तत्कालिन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मन प्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्र बहादुर गुरुङ, देवी कुमारी थापालाई पक्राउ गरि आबश्यक अनुसन्धान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुमाथि अनुसंधानका लागि बुधवार जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप भएको छ । घटनामा संलग्नमाथि कारबाही प्रकृया अघि बढाएसंगै प्रहरीले सूचना जारी गरेर कुमारी बहुउदेश्यीय सहकारीमा रकम जम्मा गरेर बचत फिर्ता नपाएको भएमा रकम जम्मा गरेको प्रमाण सहित प्रहरीमा सम्पर्क गर्न आह्वान गरेको छ ।

सहकारीमा रकम जम्मा गरेर फिर्ता नपाएका बचतकर्ताहरुलाई आफ्नो नागरिकता सहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्धती प्रमाणपत्र लगायतको प्रमाण सहित प्रहरीमा सम्पर्क राख्न सुचित गरेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

सहकारी रजिष्टार कार्यालय पोखराले गरेको छानविनको क्रममा उक्त सहकारीका बचतकर्ताहरुको रकम दुरुपयोग गरेको भेटिएको र आबश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा पक्राउ परेकाहरुको समूहले सो सहकारीको बचत रकम निजी विद्यालय, घर जग्गा खरिदलगायतमा दुरुपयोग गरेको जनाईएको छ ।