पाण्डे दम्पतीको उपचारमा अमेरिकाबाट रु ३ लाख ६३ हजार सहयोग

  • १२ माघ २०८१, शनिबार
  • 589 पटक पढिएको

म्याग्दी १२ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अमेरिकाबाट रु तीन लाख ६३ हजार बढी सहयोग जुटेको छ । अमेरिकामा रहनुभएका कलेजाबाङका युवा सोचिन्द्र भण्डारीको नेतृत्वमा रु २ लाख ५० हजार ७६ र भगवतीको पखटोलका सन्दिप कटुवाल क्षेत्रीको नेतृत्वमा १ लाख १३ हजार १६२ सहयोग जुटेको हो ।


भण्डारी र कटुवालको नेतृत्वमा अमेरिकामा संकलन भएको कुल रु तीन लाख ६३ हजार २३८ सहयोग रकम प्राप्त भएको जनाइएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुबाट सहयोग आउन थालेको छ । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो।


मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।