पाण्डे दम्पतीको उपचारमा पोर्तुगलमा रहनुभएका समाजसेवी केसीद्धारा रु ५५ हजार सहयोग
- १२ माघ २०८१, शनिबार
- 727 पटक पढिएको
म्याग्दी १२ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा पोर्तुगलमा रहनुभएका समाजसेवी वकिल केसीले रु ५५ हजार सहयोग गर्नुभएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा राखु मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका समाजसेवी केसीले उक्त सहयोग गर्नुभएको हो ।
नेपाली जनसम्पर्क समिति पोर्तुगलका निवर्तमान सभापती समेत रहनुएका केसी मोना पोर्तुगल र एनआरएनए पोर्तुगलको समेत सल्लाहकार हुनुहुन्छ । सहयोगदाता केसीले यस अघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुबाट सहयोग आउन थालेको छ । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।