मिडिया सोसाईटी अवार्ड खत्रीलाई, अध्यक्षमा विश्वकर्मा चयन

  • २० पुष २०८१, शनिबार
  • 161 पटक पढिएको

म्याग्दी, २० पुस । म्याग्दीका पत्रकार कमल खत्री मिडिया सोसाईटी अर्वाड २०८१ बाटसम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो । म्याग्दी मिडिया सोसाईटीको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपियाँ नगद र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
बेनी नगरपालिका प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, बेनी नगरपालिका–४,का वडा अध्यक्ष अणबहादुुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले पत्रकार खत्रीलाई सम्मान गर्नुभएको थियो ।

डेढ दशकदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार खत्री रासस,बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक र म्याग्दी अनलाईन लगायत संचार माध्यममा आवद्ध हुनुहुन्छ । खत्री म्याग्दी मिडिया सोसाईटीको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । प्रत्येक वर्ष एकजना पत्रकारलाई मिडिया अवार्डद्धारा सम्मान गर्न सोसाईटीले दुईलाख पचार हजार रुपियाँको अक्षयकोष स्थापना गरेको सोसाईटीका कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत शर्माले जिल्लाको विकास र समृद्धिका लागि पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गर्नुभएको थियो । गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल, वडा अध्यक्ष खड्का र महासंघ म्याग्दी अध्यक्ष गौतमले जिल्लामा संचालित संचारमाध्यमहरुको दिगो व्यवस्थापन र पत्रकारहरुको क्षमता विकासमा स्थानीय तहहरुले सहयोग गर्नुपर्ने धाराणा राख्नुभएको थियो ।
वि.स. २०७४ मा श्रमजिवी पत्रकारहरुद्धारा सञ्चालित सञ्चार माध्यमहरुको सोसाईटी साझा संस्था हो । सोसाइटीले वि.स. २०७५ देखि प्रत्येक वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यसअघि सो पुरस्कारबाट दलप्रसाद विश्वकर्मा,ठाकुरप्रसाद,सन्तोष गौतम,आचार्य,हरिकृष्ण गौतम,प्रताप बानियाँ र धिरन खत्री सम्मानित भइसक्नुभएको सोसाईटीले जनाएको छ । यसैबिच सोसाईटीको अधिवेशनबाट अमित विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली,सचिव राकेश शर्मा,कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ रहनुभएको छ ।