म्याग्दीको नयाँ गन्तव्य : ‘टोड्के–धौलागिरि पानोरमा साँस्कृतिक पदमार्ग’
- ६ पुष २०८१, शनिबार
- कमल खत्री
- 89 पटक पढिएको
कमल खत्री
म्याग्दी , ६ पुस । कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ । हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भुगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन् । जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो टोड्के–धौलागिरी पानोरमा पदमार्ग। रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रलाई समेटिएको टोड्के हिमशृङ्खला र मनोरम प्राकृतिक दृष्यहरुको अवलोकनका लागि चर्चित गन्तव्यको रुपमा परिचित छ । अग्लो डाँडामा रहेको टोड्केबाट धौलागिरि र अन्नपुर्ण रेञ्जका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्केलाई केन्द्रविन्दु बनाएर पहिचान गरिएको एक साता देखि १० दिनसम्म पदयात्रा गर्न सकिने ‘टोड्के–धौलागिरि पानोरमा साँस्कृतिक पदमार्ग’ म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले गत बर्ष अध्ययन अनुसंधान गरेको यस पदमार्गमा धार्मिक, ऐतिहासिक र नयाँ पर्यटकीय गन्तव्य तथा मगर, छन्त्याल लगायतका जातजातिका परम्परागत गाउँ बस्तीहरुलाई समेत समेटिएको छ । पछिल्लो समय सडक सञ्जालको पहुँचले परम्परागत पदमार्गहरु मासिएको र पदयात्रा गराउने नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी भैरहेको सन्दर्भमा यो पदमार्ग लामो र छोटो दुबै विकल्पको लागि उपयुक्त रहेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।
‘‘पहिलेका अधिकाँश पर्यटकीय गन्तव्यहरुमा सडक सञ्जालले जोडिन थालेका छन, क्याम्पिङ टुरिजम हराएर जाने अवस्थातिर धकेलिएको छ, यस्तो अवस्थामा नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी र अनुसंधान गरिनुपर्छ, टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै लेते निस्कने यो पदमार्ग म्याग्दीको लागि सम्भावनायुक्त छ’’– उहाँले भन्नुभयो ।
पछिल्लो समय चर्चित बनेको पर्यटकीय स्थल टोड्केबाट धौलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ । टोड्केदेखि मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी, घ्यासीखर्क हुँदै धौलागिरि हिमालको दक्षिणी आधार शिविर भएर कालीबराह ताल, सोबाङ धुरी हुँदै मुस्ताङको लेते जोड्ने गरि टोड्के–धौलागिरि पानोरमा साँस्कृतिक पदमार्गको पहिचान गरिएको हो ।
डाँडाकाँडाको यात्रा र हिमालको दृष्य नियाल्न मात्रै होइन नेपाली परम्परागत ग्रामीण जिवनशैलिको अध्ययन र अवलोकनका लागि पनि टोड्के–धौलागिरि पानोरमा पदमार्ग उत्कृष्ट मानिएको छ । मगर, छन्त्याल, दलित लगायतका जातजातिको बसोबास रहेको यस पदमार्गमा पर्ने गाउँबस्तीको मौलिक भू–वनोट र चिटिक्क मिलेका ढुङ्गेघरका लस्कर पर्यटकहरुलाई लोभ्याउने प्राचिन कलाकृति मानिन्छन् । हिमालको आँगनमा मिलेका गाउँबस्ती परम्परागत जीवनशैलिको अध्ययन गर्ने थलोको रुपमा छन् ।
मनोरम टोड्के
समुद्री सतहदेखि २ हजार ५०० मिटरको उचाईमा अबस्थित टोड्के सूर्योदय, हिमाल र ग्रामिण भूगोलको अवलोकनका लागि उत्तम मानिन्छ । विहानीको मिर्मिरको उज्यालोसंगै चम्किला किरन छर्दै आउने सुर्योदयको दृष्यले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । आँखै अगाडीका हिमालमा सूर्योदयका किरनले भर्ने चमकले फुरुङ्ग हुने पर्यटकहरु अग्लो डाँडाबाट फन्को मारेर विविधतायुक्त ग्रामीण गाउँबस्तीको भुगोललाई नियाल्दा उत्साहित हुने गर्छन । गुराँसे जंगलले घेरिएको टोड्के छोटो दुरीमा पुग्न सकिने प्रख्यात पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । थरिथरिका गुराँस फुल्ने यो क्षेत्रमा हिउँदयाममा हिउँमा खेलेर रमाउन पर्यटकहरु उक्लिने गर्छन् । टोड्केका बारीमा उत्पादन हुने मुला, आलु र सिमिको स्वाद पर्यटकको रोजाईमा पर्छ ।
पर्यटकीय सम्भावनाले मात्रै धार्मिक दृष्टिकोणमा समेत यो ठाउँ उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ स्वर्गद्धारी शाखा आश्रम समेत निर्माण गरिएको छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको कारण यस शाखा आश्रममा साधु सन्त र तपस्विहरुले ध्यान र पुजापाठ गर्दै आएका छन् । मंगला गाउँपालिको पुर्णगाउँ र कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरुको खाना र बसोबास सुविधाका लागि नीजि क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढेको रिसोर्टका सञ्चालक भिम शेरचनले बताउनुभयो । ‘‘पहिले यहाँ खाजा खाने ठाउँ समेत थिएन, पर्यटकहरु आफै खाना खाजा लिएर आउने गर्थे, रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न आउनेहरु बढेका छन’’– उहाँले भन्नुभयो । टोड्के जाने मुख्य मार्गमा समेटीएका झिँ र पुर्णगाउँमा होमस्टे समेत सञ्चालनमा रहेका छन् ।
मनमोहक मालिका धुरी
यस पदमार्गमा मालिका धुरी अर्को मुख्य गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको मालिका धुरी रमणीय दृष्यको अवलोकनको लागि प्रख्यात छ । मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रको पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुङ्ग बनाउँछ । यहाँको मनमोहकताले उकालो र जंगलको थकान भुलाईदिने गर्छ । मन्दिर परिसरबाट आँखै अगाडी ठोक्किन आउने हिमालको लस्कर नियाल्दा खुसी, आनन्द र गौरवको महसुस गराउँछ ।
मालिकाधुरीबाट विहानीको सूर्योदयको दृष्य मनमोहक देखिन्छ । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखलालाई मालिका धुरीबाट एकैसाथ अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले प्रख्यात मालिका धुरी धार्मिक रुपमा समेत उस्तै महिमा बोकेको ठाउँ हो । यहाँ बनाइएको मालिकाको थानमा कालिका, मालिका र जालपादेवीको मुर्ति राखिएका छन् । मलिकाको पुजाआजा र भाकल गरेमा सन्तान, अध्ययन, रोजगारि लगायतको मनोकांक्षा पुरा हुने भएकाले चण्डी पूर्णिमा, भाईटिका, जेष्ठी पूर्णिमा र बालाचर्तुदशी पर्वमा भक्तजनहरुको भिड लाग्ने गर्छ । यहाँ म्याग्दीका मात्रै नभएर पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका स्थानबाट बर्षेनी हजारौ भक्तजनहरुको आगमन हुने गरेको छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा पछिल्लो समय बलीको बिकल्पमा नरीवल चढाउने चलन बसाईएको छ ।
यसरी पुरा हुन्छ पदयात्रा
टोड्केबाट मालिका धुरी–ठाडाखानी–कुइनेखानी–चौरखानीतर्फ भएर घ्यासीखर्क पुगेपछि यस पदमार्गमा मानव बसोबास रहेका गाउँबस्ती सकिन्छन् । यस पदमार्गले समेटिएको चिमखोलाको सेतीनी भ्यालीमा होटल सुविधा भएपनि त्यहाँदेखि अगाडीको यात्रा भने क्याम्पीङ बन्दोबस्त सहितको तय गर्नुपर्छ । टोड्के–धौलागिरि पानोरमा, धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल गरि तीन वटै पदमार्गले समेटीएको सेतिनी भ्यालीबाट नेपाली पर्यटकहरु एक दिन र विदेशी पर्यटकहरु दुई दिनकै यात्रामा धौलागिरि हिमालको दक्षिणी आधार शिविर पुग्न सकिन्छ । रघुगंगा नदिको किनारै किनार, वनजंगल, भीर पहाड र भञ्ज्याङ हुँदै निर्माण भएको यस पदमार्गको यात्रा साहसिक र रमणीय मानिन्छ ।
हिमाल संगै नदीनाला, खोला, झरना, ताल तलैयाकोे अवलोकन गर्दा पर्यटकहरुमा सुन्दरताको प्यास मेट्न र खुसीको सिमा भेट्न मुस्कील पर्छ । आधार शिविर नजिकै सम्म ग्लेसियरको सामाना गर्न नपर्ने भएकाले अन्य आधार शिविरहरुको तुलनामा यो आधार शिविर पर्यटकहरुको बसोबासका लागि सुरक्षित र कम जोखिमपूर्ण मानिन्छ । आधार शिविरमा रहेको नीलि बराह ताल र पदमार्गका ठाउँ ठाउँमा रहेका सेती बराह, कालीबराह, लाटीबराह लगायतका ताल, तलैया पर्यटकका थप आकर्षण हुन । कालीबराह हुँदै मुस्ताङको लेते जोडिएको यो पदमार्ग एक सातादेखि १० दिनको पदयात्रामा पुरा गर्न सकिन्छ । यस पदमार्गको अध्ययन, खोज र अनुसंधान भएकलाले नक्साङ्कन सहित पर्यटन पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारमा पहल थालिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुन सम्भावना रहेको उहाँको भनाई छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l