पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

  • ५ मंसिर २०८१, बुधबार
  • 1 पटक पढिएको

म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुनेगरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य हो । प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भए यात्रा भने सकसपूर्ण हुने गरेको हालै त्यहाँको भ्रमण गरेर फर्किएका बेनीका देवी जिसीले बताए । ‘टोड्के पुग्नै समस्या छ, पुगेपछि भने रमाइलो छ’, उनले भने ।

बेनी नगरपालिका-१० वाखेत, रघुगङ्गा गाउँपालिका-५ झिँ, बेनी नगरपालिका-५ डडुवा, मङ्गला गाउँपालिका-१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । घुम्ती तथा ग्रेड नमिलेको कच्ची सडकमा बर्खा र हिउँ पर्ने समयमा यातायातका साधन चल्दैनन् । अन्य समयमा पनि यात्रा जोखिमपूर्ण छ । मङ्गला-१ पूर्णगाउँका खगेन्द्र खत्रीले निर्माण भएका सडक स्तरोन्नति गर्नेभन्दा नयाँ सडक निर्माण गर्ने होडबाजीले कुनै सडक स्तरीय बन्न नसकेको बताए ।

महँगो भाडा

टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडकको समस्याका कारण अपेक्षाकृत रूपमा टोड्केमा पर्यटक आउन नसकेका बताए । ‘हिउँ नपरेको र वर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टर मात्र चल्छन्’, उनले भने, ‘ढुवानी र गाडी रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्छ ।’ पर्यटकले सडकको विषयमा गुनासो गर्ने गरेका शेरचनले बताउनुभयो । बेनीदेखि एउटा ग्यासको सिलिण्डर टोड्के पुर्‍याउँदा रु दुई सय ५० भाडा तिर्नुपर्छ । नियमित गाडी नचल्ने भएकाले पर्यटकहरू त्यहाँ पुग्न गाडी रिजर्भ गर्नुपर्छ ।

बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के(१५ किलोमिटर), १९ किलोमिटर दुरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने २९ किलोमिटर दुरीको सडकको विकल्पमा गत आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले रु २२ लाख खर्चेर कुहुँ–भिरकटेरा–टोड्के सडक निर्माण गरेको थियो । बस्ती, बस्तीको अनुकुलताका लागि खनिएका सबै सडकमा गाडीलाई घुम्ती नपुग्ने र ग्रेड नमिल्ने समस्या छ ।

पालिकाहरूको प्राथमिकता सडकमै

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीदेखि सात किलोमिटरमाथि जम्रेनीसम्म सडक कालोपत्र र ढलान भएको जानकारी दिँदै तोरीपानीसम्मको थप चार किलोमिटर सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको बताए । मुख्य बेनी–पाखापानीबाहेक बस्तीदेखि टोड्के जोड्ने कुन सडकलाई प्राथमिकता दिने भन्ने यकिन नहुँदा समस्या भएको उनको भनाइ छ । प्रदेश सरकारको रु २० करोड बजेटबाट स्तरोन्नति भइरहेको बेनी–पाखापानी सडकमा यस वर्ष बेनी नगरपालिका र सङ्घीय सरकारको साझेदारीमा कार्यान्वयन हुने गरी रु तीन करोड बजेट विनियोजन भएको छ । बेनीदेखि पुलाचौरतर्फको सडकअन्तर्गत पुरुण्डेसम्मको सडक ढलान र कालोपत्र भएको छ ।

रघुगङ्गा गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले झिँदेखि टोड्के जोड्ने सडकलाई क्रमागत योजनाका रूपमा स्तरोन्नति भइरहेको र चालु आवमा सङ्घीय सरकारले रु ५० लाख विनियोजन गरेको बताए । मङ्गला गाउँपालिकाले सिमदेखि कुहु हुँदै टोड्के जोड्ने सडकअन्तर्गत सिमदेखि कोत्रवाङ हुँदै करिब दुई किलोमिटर कालोपत्र र ढलान गरिसकेको छ । मङ्गला गाउँपालिका-१ कुहुँका वडाध्यक्ष एकजित रोकाले सङ्घीय सरकारले विनियोजन गरेको रु एक करोड बजेटमार्फत कुहुँ-भिरकटेरा-टोड्के सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको बताए ।

टोड्केको आकर्षण

गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो शृङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमाल अगाडि बसेर योग र ध्यानमा पनि रमाउन सकिन्छ । यहाँ उत्पादन भएका अर्ग्यानिक मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेकाले टोड्के धार्मिक महत्वको पनि स्थल हो ।

डाँडाको शिरमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा छन् । आश्रम परिसरमा गौशाला पनि सञ्चालनमा छ ।