विकास निर्माणको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग

  • २८ असार २०८१, बिहीबार
  • 169 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका योजनाहरुको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग गर्न सुरु गरेको छ । रड , सिमेन्ट, बालुवा र गिट्टी मिसाएर निर्माण गरिने नाली, सडक ढलान, भवनको पिल्लर लगायतका विकास निर्माणका योजनाको गुणस्तर जाँच गर्न गाउँपालिकाले आनुधिक मेसिन उपकरणको प्रयोग गर्न थालेको हो ।
यस बर्ष गाउँपालिकामा सञ्चालित सडक ढलान, भवन निर्माण लगायतका विकास निर्माण योजनामा गाउँपालिकाले स्मिथ ह्याम्बर, रोड कटर ग्रेण्डर, कोर कटर मेसिन, मेजरिङ टेप लगायतका औजार उपकरणको प्रयोग गरेको गाउँपालिकाका इन्जिनियर इश्वर भण्डारीले जानकारी दिनुभयो । आधुनिक औजार उपकरणको प्रयोग गरेर गुणस्तर जाँच गर्दा ढलान मोटाइ, निर्माण सामाग्रीको मिश्रणको मात्रा, रडको गुणस्तर लगायतका पक्षहरु सहजै पत्ता लाग्ने भएकाले विकास निर्माणका योजनाको अनुगमन र निरिक्षणलाई प्रभाबकारी बनाउन समेत सघाउ पु¥याएको छ ।
गाउँपालिकाले विकास निर्माणका योजनाको गुणस्तरलाई प्रविधि र औजार उपकरणको प्रयोग गरेर मापन र जाँच गर्नका लागि फलाम जोख्ने आधुनिक तराजु लगायतका अन्य सामाग्रीहरुको समेत बन्दोबस्त गरेको छ । ‘‘ निर्माण भएका पूर्वाधारको गुणस्तर मापन गर्न औजार उपकरणले सहयोग पुगेको छ, निर्माण व्यवसायि र उपभोक्ताहरुलाई गुणस्तरीय र आबश्यक मात्राको निर्माण सामाग्रीको प्रयोग गर्न समेत यसले सजग गराउँछ’’– ईन्जिनियर भण्डारीले भन्नुभयो ।
यस अघि निर्माण भएका पूर्वाधारको गुणस्तर जाँच गर्दा केहि भाग फोर्नुपर्ने र संरचनामा समेत क्षति हुने गरेकोमा प्रविधि युक्त मेसिन उपकरणको प्रयोग गरेर गुणस्तर परिक्षण विधि लाभदायि बनेको छ । गाउँपालिकाले गुणस्तर परिक्षणको प्रयोगशाला नै स्थापना गर्ने लक्ष्य अनुरुप गुणस्तर मापन गर्ने र जाँच गर्ने औजार, उपकरण र मेसिनहरु खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।


उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको गुणस्तरअनुसारको निर्माण सामग्रीको मात्रा र अनुपात मिलाएर सही तरिकाले प्रयोग गरे नगरेको मापन मेसिन उपकरणबाटै हुने भएकाले विकास निर्माणलाई गुणस्तर र टिकाउ बनाउन र जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । प्रविधिको प्रयोगबाट गुणस्तर परीक्षण गर्दा उपभोक्ता, निर्माण व्यवसायी र प्राविधिक तथा अनुगमन समितिलाई जवाफदेही बनाउने गाउँपालिकाले जनाएको छ ।