जन्मदिनमा शिक्षकद्धारा विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग
- २८ जेष्ठ २०८१, सोमबार
- 977 पटक पढिएको
म्याग्दी २८ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको अर्बाङमा रहेको जनविकास आधारभूत विद्यालयका एक शिक्षकले विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग गर्नुभएको छ । विद्यालयका शिक्षक यामकुमारी खोरजा पुनले आफ्नो ४३ औँ जन्मदिनको अवसरमा सोमबार विद्यालयलाई रु ५० हजार १०५ आर्थिक सहयोग गर्नुभएको हो । शिक्षक पुन वि.स. २०६१ सालदेखि विद्यालयको स्थायि शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । जन्मदिनलाई अनावश्यक क्षेत्रमा खर्चिलो तवरले मनाउनु भन्दा विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग पुगोस भन्ने उदेश्यले आफुले सहयोग गरेको शिक्षक पुनले बताउनुभयो । सहयोगदाता पुनले विद्यालयमा आयोजित एक कार्यक्रममा उक्त सहयोग रकम आर्थिक संकलन समितिका संयोजक देवेन्द्र जुग्जालीलाई हस्तान्तरण गर्नुभएको विद्यालयका प्रअ तिलकमान गर्वुजाले जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालयका शिक्षक र व्यवस्थापन समितिले शिक्षक पुनलाई सहयोगको लागि आभार प्रकट गर्दै सम्मान समेत गरेका थिए । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा ७१ जना विद्यार्थी अध्यनरत रहेका छन् । प्रावि दरबन्दी ५, निमावि गाउँपालिका अनुदान एक र निमावि राहत एक जना शिक्षक कार्यरत विद्यालयमा एक जना शिक्षक निजि स्रोतबाट रााखिएका छन् । विद्यालयको शैक्षिक र भौतिक विकासका लागि विद्यालयले आर्थिक संकलन समिति नै गठन गरेर देश तथा विदेशमा रहेका पूर्व विद्यार्थी, स्थानीयबासी र सहयोगदाताहरुलाई सहयोगको लागि आह्वान समेत गरेको छ ।