समाजवादी व्यवस्थाले मात्रै सबै विभेदको अन्त्य सम्भव छः नेता खनाल
- २६ माघ २०८०, शुक्रबार
- 417 पटक पढिएको
म्याग्दी (बेनी), २६ माघ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा रहेका सबै खालका विभेद हटेर जाने बताउनुभएको छ । नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको दिवंगत आमा कौशिला विश्वकर्माको स्मृतिमा शुक्रवार बेनीमा आयोजित शोक सभामा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले समाजमा अन्धविश्वास र सामाजिक जडको रुपमा रहेको उचो–निचोको भेदलाई पूर्ण रुपमा हटाउन जरुरी रहेको बताउनुभयो । ‘‘ समाजमा आज पनि मान्छे–मान्छे बिचमा भेद सिर्जना गर्न खोजिएको छ, जन्मको आधारमा कोहि सानो र ठूलो भन्ने हुँदैन, यो कृतिम कुरा हो, समाजवादी आन्दोलनले यसलाई पूर्ण रुपमा परिवर्तन गर्न सक्छ’’–नेता खनालले भन्नुभयो । उहाँले बृद्धले समेत ज्ञान प्राप्त गरेका व्यक्तिलाई मात्रै ब्राहमणको उपमा दिएको उल्लेख गर्दै समाजमा रहेका जातिय, बर्गिय, भाषिक, साँस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
लामो समयसम्म निरंकुश शासन हुँदा समाजलाई विभेदको बाटो विभाजनतर्फ लगेको बताउँदै उहाँले अहिले रहेको पुँजिबादी लोकतन्त्रले समेत सबै विभेद हटाउन नसकेको जिकिर गर्नुभयो । उहाँले अहिलेको व्यवस्थाले विभेदलाई कानुनी अपराध मानेको बताउनुभयो । एकिकृत समाजवादीले सबैको पहिचान स्थापना र सबै विभेदको अन्त्यको लागि समाजवादी आन्दोलनको अगुवाई गरेको बताउँदै उहाँले नेपाली समाजको रुपमान्तरणमा, युवा दलित , महिला, आदिवासी जनजाति लगायतको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । समाजवादी व्यवस्थाले मात्रै सबै मानिसलाई समान व्यवहार र अवसर सिर्जना गर्ने नेता खनालको भनाई थियो .। कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा गत शनिबार आफ्नै निवासमा निधन भएको हो । दिवंगत कौशिलाका चार छोरा रहनुभएको छ ।