अयोध्यामा लगिएको देवशिलाको उद्गमस्थलमा लाखवत्ति प्रज्वलन (फोटो फिचर)
- ८ माघ २०८०, सोमबार
- कमल खत्री
- 381 पटक पढिएको
बेनी ८ माघ : भारतको अयोध्यामा निर्मित राम मन्दीरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदा म्याग्दी स्थित कालीखण्डकी नदीमा लाखवत्ति प्रज्वलन गरिएको छ । अयोध्यामा लगिएको देवशिलाको उद्गम स्थल गलेश्वर नजीकै पर्ने बेनी नगरपालिका–६ स्थित कालीगण्डकी नदी किनारमा सोमबार मध्यान्न साढे १२ बजे लाखवत्ति प्रज्वलन गरिएको हो ।
बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोषले पवित्र धार्मिक स्थल गलेश्वर शिवालयबाट बाजागाजा र भजनकृतन सहित सोभा यात्रा गरेर देवशिला उद्गमस्थलमा लाखवत्ति प्रज्वलन गरिएको शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । जगदगुरु हिमालय बाबाको उपस्थितिमा बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी, संघ संस्था र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय र हिन्दु धर्मावलम्वीहरुको सहभागीतामा कालीगण्डकी नदी किनारमा पूजापाठ सहित लाखवत्ति प्रज्वलन गरिएको थियो ।
विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको किनारबाट अयोध्यामा गत बर्ष दुई वटा शिला लगिएको थियो । कालीगण्डकी नदीबाट लगिएको शिलालाई भगवान रामको बालअवतारको मुर्ति बनाउने भनिएको भएपनि कालीगण्डकीको शिलालाई फोर्न नहुने भन्दै अहिले अयोध्यामा देवशिलाको रुपमा दर्शन तथा पुजाआजा गर्ने गरि राखिएको छ ।
प्राविधिक रुपमा कालीगण्डकीबाट लगिएको शिलाबाट मुर्ति नबनाइएको भएपनि राममन्दिर परिसरमा देवशिलाको रुपमा राखिएको र रामन्दिर पुग्नेहरुले उक्त शिलालाई महत्वका साथ दर्शन गर्ने गरेकाले देवशिलाको उद्गम स्थललाई पवित्र स्नानस्थलको रुपमा विकास गर्ने योजना बनाएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उहाँले देवशिला उत्खनन गरेको ठाउँ नजीकै रहेको फोहोर व्यवस्थापन केन्द्रलाई समेत अन्यत्र स्थानान्तरण गरेर यस ठाउँलाई पवित्र र प्रसिद्ध ठाउँको रुपमा विकास र परिचित गराउने योजना बनाएको जानकारी दिनुभयो ।
देवशिलाको उद्गमस्थललाई श्रीरामघाटको रुपमा नामाकरण गरिएको छ । सोमबार भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएका दुईवटा देवशिला राममन्दिरको गर्भगृहमा राखिएको हुँदा देवशिलाको उद्गमस्थलमा समेत पूजापाठ र दिप प्रज्वलन हुनुले यहाँको धार्मिक महिमालाई विश्वभर सन्देशका रुपमा प्रवाह गराएको जगदगुरु हिमालय बाबाले बताउनुभयो ।
श्रीरामघाटलाई गंगा स्नान स्थलका रुपमा विकास गरी कागबेनी, मुक्तिनाथ र दामोदरकुण्ड जाने धार्मिक भक्तजनहरुले यसै क्षेत्रमा कालिगण्डकीको स्नान गर्दा पुण्य प्राप्त हुने सन्देश प्रवाह गराउनका लागि आबश्यक पूर्वाधार बनाउनुपर्ने उहाँको भनाई छ । हिन्दु धर्मावलम्वीहरुको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न भन्दै शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट गत बर्ष शिला लगिएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला नेपालले भारतलाई उपहार दिइएको हो । तर शालिग्राम शिलालाई कुँदेर मुर्ति बनाउन नहुने भारतीय धर्मगुरुहरुको अडानपछि यहाँबाट लगिएका शिलालाई देवशिलाको रुपमा पुजा र दर्शन गर्न मिल्ने गरि अयोध्यामा सजाएर राखिएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l