बगरखोलाको अस्तित्व र चिमखोलाको स्वरुप बिग्रने गरी जलविद्युत बनाउन नदिने

  • २५ पुष २०८०, बुधबार
  • 336 पटक पढिएको

बेनी (म्याग्दी), २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोलाको अस्तित्व र गाउँको स्वरुप बिग्रने गरी जलविद्युत आयोजना बनाउन नदिने भएका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५ दशमलब ५ मेगावाट क्षमताको बगरखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको थियो ।
मंगलवार वडा कार्यालयले आयोजना गरेको सर्वपक्षित भेलाले गाउँ नजीक खोला सुकाएर निर्माण गर्न प्रस्ताब गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकुल प्रभाब पार्ने भन्दै यथास्थितिमा आयोजनालाई अघि बढाउन नदिने निर्णय गरेको छ ।
गाउँकै नजीकबाट बग्ने खोलाको पानीलाई सुकाएर जलविद्युत निर्माण गर्दा बगरखोलाको अस्तित्व समाप्त हुने र गाउँको फेदीतर्फ विद्युतगृह बनाउँदा गाउँको प्राकृतिक स्वरुप बिग्रने भएकाले अहिले प्रस्तावित ठाउँमा आयोजनालाई बनाउन नदिने निर्णय गरेको वडा अध्यक्ष थकबहादुर पाईजाले बताउनभयो ।
उहाँका अनुसार, गाउँको छेउमा रहेको धमाखु खेलमैदान देखी माथि रहेको कुकुर भुक्ने स्थानतर्फ विद्युतगृह रहने गरि आयोजनालाई बनाउन स्थानीयले आयोजना प्रवद्र्धकहरुलाई सुझाब दिएका छन् । चिमखोलाको पात्लेखेत गाउँको फेदीमा बाँध रहने यस आयोजनाको विद्युतगृह चिमखोला गाउँ भन्दा केही तल प्रस्ताव गरिएको थियो ।
मोना हाइड्रोपावर कम्पनीका अध्यक्ष चक्रबहादुर थापा लगायत आयोजना प्रवद्र्धकहरुको टोली समेतको सहभागीता रहेको उक्त सर्वपक्षिय छलफलमा स्थानीयबासीले प्रभावित क्षेत्रका सरोकारवालाहरुलाई जानकारी समेत नदिइकन आयोजनाको नक्साङ्कन भएको भन्दै विरोध गरेका थिए ।
कार्यक्रममा प्रवद्र्धक कम्पनीका अध्यक्ष थापाले बगरखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमती लिएको कम्पनीले काम अघि नबढाएको कारण खारेजीको अवस्थामा पुगेपछि आफुहरुले सक्रियता जनाएर आयोजनालाई अघि बढाउन लागेको जानकारी गराउनुभएको थियो । उहाँले प्रवासी म्याग्देलीहरुको नेतृत्वमा यस आयोजनालाई अघि बढाउन लागिएको बताउँदै आयोजना बनाउन सकरात्मक सहयोग गर्न स्थानीयबासीलाई आग्रह गर्नुभएको थियो ।
‘‘प्रवासीहरुले जिल्लाको सामाजिक क्षेत्रमा बर्षौदेखि सहयोग गर्दै आएका छौँ, अब विदेशमा आर्जन गरेको पुँजीलाई लगानीको रुपमा भित्र्याउनुपर्छ भनेर यस आयोजनालाई अघि बढाउन जमर्को गरेका हौँ, अन्य व्यक्तिहरुले दर्ता गरेर अलपत्र परेको अवस्था पुनः पक्रिया पुरा गरेर मोना हाइड्रोपावरले आयोजनालाई अघि बढाउन लागेको हो’’–उहाँले भन्नुभयो । उहाँका अनुसार आयोजना लाइ अघि बढाउन स्थानीय सरोकारवाला संग आवस्यक छलफल र समन्वय भैरहेको छ ।  बगरखोला जलविद्युत् आयोजनाको हालै (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता समेत भएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवद्र्धक मोना हाइड्रोपावरले हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० प्रतियुनिटका दरले विद्युत खरिद विक्रि गर्ने सम्झौता गरेको थियो ।
दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइपलाइनबाट ल्याएको पानीबाट उत्पादन हुने विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सवस्टेशन मार्फत केन्द्रीय प्रशारण लाईनमा जोडिने प्रस्ताब गरिएको छ । रासस