कालीगण्डकी कोरिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

  • १९ पुष २०८०, बिहीबार
  • 375 पटक पढिएको

म्याग्दी, पुस १९ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो ।

बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुङ्ग-तातोपानी क्षेत्रमा बिटुमिन र चिप्ससहित पहिलो कोड राख्न थालेको जानकारी दिनुभयो । “गाउँपालिकाको केन्द्र पोखरेबगर र नागढुङ्गा-भुरुङ्ग तातोपानी क्षेत्रमा फस्ट कोड राखेको छ”, उहाँले भन्नुभयो, “महभिरबाट भिरकाटेसम्म कालोपत्रका लागि बेस राखिसकेको छ । त्यहाँ फस्ट कोड राख्ने तयारी भएको छ ।”

करिब तीन किलोमिटर सडक कालोपत्र गर्न लागिएको इन्जिनियर पन्तले जानकारी दिनुभयो । समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि निर्माण व्यवसायीले तीन वर्षपछि काम सुरु गरेका हुन् । रघुगङ्गा गाउँपालिका-३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न वि.सं.२०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबिच ठेक्का सम्झौता भएको थियो ।

प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण वि.सं.२०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्न थालेको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । “पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको छ”, उहाँले भन्नुभयो, “चमेरे, वैसरी र महभिरबाहेकको सडकमा कालोपत्रको तयारी भएको छ ।”

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सवबेस र बेस राख्ने काम सकिएको बताउनुभयो । “मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर दूरीसम्मको सडक यसपालि नै कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ”, उहाँले भन्नुभयो । यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइएको छ ।

रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट-बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सन सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।

बेगखोला-नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको हो । राहुघाट-बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारले नै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठुलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

यसैबिच बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाठ काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ । वि.सं.२०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका-२ नागढुङ्गाबाठ वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी कोरिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.सं.२०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माण सकिएका छन् । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस