दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण : एमाले उपमहासचिब ज्ञवाली
- ६ पुष २०८०, शुक्रबार
- 452 पटक पढिएको
बेनी, ६ पुस : नेकपा एमालेका उपहासचिब प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्वनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा शुक्रवार आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्वोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले निजी विद्यालयहरुको योगदानको अबमुल्यन गर्न नमिल्ने भएपनि अहिलेको शिक्षा प्रणालीले दुईथरी नागरिक उत्पादन गरेको बताउनुभयो । ‘‘एकथरी बालबालिकाहरु भविश्यका डाक्टर, इन्जिनियर, वकिल बन्ने छन्, अर्काधरी विद्यार्थीहरु खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन’’–पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले भन्नुभयो ।
नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाहरुको मौलिक अधिकारको रुपमा स्थापित गरेपनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ । संविधानमा आधारभूत शिक्षालाई निशूल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निशूल्क प्रदान गर्ने घोषणा भएपनि विविध कारणले अझैपनि कतिपय बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित रहेको नेता ज्ञवालीले बताउनुभयो । ‘‘संवैधानिक रुपमा रहेको व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने हो, तर कतिपय बालबालिकाहरु अझै विद्यालयको दायरा बाहिर छन्, गरिबी, पारिवारिक संरक्षणको अभाब लगायतको कारण बिचैमा विद्यालय छाड्ने चुनौतिहरु पनि छन्, यसतर्फ राज्य गम्भिर हुनुपर्छ’’–उहाँले भन्नुभयो ।
पछिल्लो समय बालबालिका भर्ना दर ९९ प्रतिशत पुग्नु सकरात्मक रहेको बताउँदै घरपरिवार, समाज र सरकारले योग्य, दक्ष र स्वस्थ नागरिक उत्पादन गर्नका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । अध्ययनका लागि विदेशी मुलुकमा जाने लहरले विश्वविद्यालय, कलेज र विद्यालयहरु रित्तिने जोखिम बढेको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थीहरुले शिक्षा लिँदा देशमै योगदान गर्छु भन्ने अठोट लिनुपर्ने बताउनुभयो ।
गत बर्ष मात्रै १ लाख २५ हजार बढी विद्यार्थीहरुले विदेश अध्ययनका लागि विदेशी शैक्षिक संस्थाहरुबाट अनुमति पत्र लिएको र विदेश जाने विद्यार्थीहरुबाट ६७ अरब विदेशी मुद्रा बाहिरीएको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थी र युवाहरुलाई स्वदेशमै राख्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
शिक्षाको गुणस्तर भौतिक पूर्वाधार र सुविधाले मात्रै सम्भव नहुने बताउँदै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकार सबैको साझा प्रयत्नले मात्रै शिक्षामा सुधार सम्भव रहेको बताउनुभयो । कार्यक्रममा दिवंगत हिराबहादुर बानियाँको स्मृतिमा उहाँको घरपरिवारले रु ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ भने ११४ विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री वितरण गरिएको थियो । रासस