राजनीतिले जुराएको संयोग : ‘एउटै मञ्चमा बाबु–छोरी, ससुरा–बुहारी’

  • ३ कार्तिक २०८०, शुक्रबार
  • 451 पटक पढिएको

बेनी, ३ कात्तिक : बेनी नगरपालिकाले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा ‘एउटै मञ्चमा बाबु–छोरी र ससुरा–बुहारी’ सहभागी भएको रोचक संयोग देखियो । बिजया दशमी, तिहार, नेपाल सम्वत र छट लगायतका पर्वहरुको अवसरमा शुक्रवार बेनी नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको स्टेजमा संविधान सभा सदस्य गोविन्द पोडेल, पौडेलकी बुहारी एवंम बेनी नगरपालिकाका उप–मेयर ज्योति लामिछाने पौडेल दायाँ तर्फ र राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा र उहाँकी छोरी बेनी नगरपालिकाका निवर्तमान उप–मेयर सञ्जु बरुवाल बायाँतर्फको लहरमा बस्नुभएको थियो ।
एउटै मञ्चमा बाबु–छोरी र ससुरा–बुहारी’ सहभागी हुने उक्त सुखद् संयोग पौडेल र थापाको परिवारमा राजनीतिले मिलाइदिएको हो । संविधान सभा सदस्य समेत रहनुभएका नेकपा माओवादी केन्द्रका नेता पौडेल हाल पार्टीको केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ भने उहाँकी बुहारी लामिछाने विद्यार्थी र युवा राजनीतिमा संलग्न हुँदै हाल पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।
महिला संघ संस्थादेखि सहकारीसम्मको नेतृत्व गरिसक्नुभएकी स्पष्ट बक्ताको रुपमा परिचित लामिछाने राजनीतिमा समेत उत्तिकै क्रियाशिल र सक्रिय हुनुहुन्छ । माओवादी जनयुद्धकालदेखि नै सिंगो परिवारलाई पूर्णकालिन राजनीतिमा समाहित गर्नुभएका पौडेलको परिवारका सबैजना अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । राप्रपा म्याग्दीको दोस्रो कार्यकालको नेतृत्व सम्हाल्नुभएका थापाको परिवार पनि राजनीतिमै सक्रिय हुनुहुन्छ । राप्रपा निकट शिक्षक परिषदबाट राजनीतिमा आबद्धता बढाउनुभएका थापाले शिक्षण पेसाबाट उपदान लिएपछि सक्रिय राजनीतिमा होमिनुभएको थियो ।

वि.स. २०६४ सालदेखि राप्रपा पार्टीमा सक्रिय हुनुभएका थापा अहिले दोस्रो कार्यकालको लागि पार्टीको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । उहाँकी छोरी सञ्जु बरुवाल हाल पार्टीको महिला उपाध्यक्ष हुनुहुन्छ । पार्टीमा महिला संगठनबाट राजनीतिमा सक्रिय बरुवाल अन्तरपार्टी महिला सञ्जाल लगायत विभिन्न सघ संस्थामा समेत सक्रिय हुनुहुन्छ । म्याग्दीको मंगला गाउँपालिकामा एउटै घरका बहिनी र दाई गाउँपालिकाको उपाध्यक्ष र वडा अध्यक्ष पदमा हुनुहुन्छ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष प्रेमकुमारी क्षेत्री उपाध्यक्ष हुनुहुन्छ भने उहाँका दाई भुपेन्द्र खत्री दोस्रो कार्यकालको लागि मंगला गाउँपालिका वडा नम्बर ५ अर्मनको अध्यक्षमा कार्यरत हुनुहुन्छ ।