पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध

  • १६ आश्विन २०८०, मंगलवार
  • 419 पटक पढिएको

फाइल तस्बिर

बेनी, १६ असोज : अबिरल बर्षाको कारण म्याग्दीका मुख्य सडकहरु अबरुद्ध भएका छन् । गयरातीदेखि परेको अबिरल बर्षाको कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडकहरु अबरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी– दरबाङ सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहिदिन यता मौसममा आएको खराबीको कारण निरन्तरजसो बर्षा भैरहेको छ । पहिरोले जिल्लाको ग्रामीण सडकहरु समेत अबरुद्ध बनाएको छ ।

म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अबरुद्ध भएको छ ।
त्यसैगरि बेनी जोमसोम सडकखण्डको रघुगंगा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नम्बर ३ को गुँईठे लगायतको क्षेत्रमा पहिरोले सडक अबरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसीरहेको कारण सडकखण्डमा सवारी सूचारु हुन सकेको छैन् । बेनी–जोमसोम सडकखण्ड पहिरोले अबरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तिर्थयात्रीहरुलाई सास्ती भएको छ ।

सोह्रश्राद्धमा पृतीउद्धारको लागि मुस्ताङको कागबेनीमा जाने तिर्थालुहरुको चाप बढेको समयमा सडक अबरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरु बिच बाटैमा रोकिएका छन् । पहिरोले ठाउँ ठाउँमा सडक अबरुद्ध बनाउने भएकाले सम्बन्धीत सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।