घुम्ती गोठलाई चरण क्षेत्रमा घाँसको अभाव बढ्दै

  • ११ जेष्ठ २०८०, बिहीबार
  • धिरन खत्री
  • 361 पटक पढिएको

 

म्याग्दी, ११ जेठ । म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दोले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो ।

पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम घट्दै गएपछि घुम्ती गोठलाई चरीचरण क्षेत्रमा घासँको अभाव बढ्दै गएको रघुगंगा गाउँपालिका– २ भगवतीका ११० बर्षदेखि भेडापालन गर्दै आएका नन्दबहादुर भण्डारीले बताउनुभयो ।

“परम्परागत रुपमा पशुपालन (जनावर) पाल्ने क्रम घट्दै गएको छ, वनको प्रयोग कम हुदै गएको छ, घासँ उम्रने ठाउँमा दाउराको खात, नजाती घासँको फैलने क्रम बढ्दो छ,”– भण्डारीले भन्नुभयो, “पहिल्य घुम्ती गोठलाई चरण समस्या थिएन, वनजंगलको दाउरा सबै प्रयोग गर्थे, जनश्रमदानमार्फत वनलाई गोठमेल गर्थे, पशुपालन गर्ने संख्या बढी थियो, वनजंगल विस्तार कम थियो ।”

गाउँबाट सुख सुविधाको शहरमा पलायन, गाउँमा ग्यासको प्रयोग बढ्नुले वनको रुखको हाँगा कटानी र खेतबारीमा प्रयोग हुने मोल बनाउने प्रसौला प्रयोग पनि कम भएपछि घासँ उम्रने ठाउँमा प्रसौला र सुकेका दाउराको खातले पशुको आहारा घासँ मासिने क्रम बढेको भण्डारीले भन्नुभयो। घासँ मासिदै जादाँ घुम्ती गोठमार्फत जनावर( भैसी, गाई, भेडा र बाख्रा) पाल्ने प्रचलन कम हुदै गएको छ। पशुलाई प्रशस्त रुपमा घाँस अभाव छ ।

पशुको बृद्धि र विकासमा चाहिने आहार पु¥याउन कात्तिकमा बेशी झर्ने र जेठ असारको समयमा हिमाली क्षेत्रमा घुम्ती गोठलाई उकाल्ने गरिन्छ । चरीचरणमा घाँसको अभाव बढ्दै गएपछि चार पुस्तादेखि पालन गर्दै आएको भेडाबाख्रा गोठलाई ब्यवस्थित रुपमा अघि बढाउन हिउँदको समयमा घासँको समस्या बढी हुने गरेको अनुभव भण्डारीले बताउनुभयो ।

पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले ब्यावसायिक पशुपालनमा अनुदान, भ्याक्सीन लगायत औषधीको सुविधा उपलब्ध गराएपनि सामुदायिक वनमा चराउन कर तिर्नुपर्ने, घुम्ती गोठलाई सामुदायिक वनजंगलमा चरण गर्न रोक लगाउदाँ पशुपालन छोडेर अन्य पेशा ब्यवसाय र बैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । स्थानीय स्रोतसाधनको प्रयोग बढाउने र परम्परागत गोठलाई अन्तरपुस्ता हस्तान्तरण गर्नका लागि तीन तहको सरकार मिलेर नीतिनियम हेरफेर गरेर घुम्ती गोठ बचाउनतर्फ ध्यान दिनुपर्ने माग पशुपालक कृषकको रहेको छ। बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका बेचेर हुने आम्दानीले भुलाउने गर्छ ।

म्याग्दीमा घुम्ती गोठमार्फत ९० जना किसानले फार्ममार्फत भेडाबाख्रापालन गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवम् पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l