भुरुङ तातोपानीमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान

  • २ श्रावण २०७४, सोमबार
  • 2361 पटक पढिएको

म्याग्दी २ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगती विवरण शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम मार्फत सार्वजनीक गरिएको छ ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सचिव दिपकलाल पालले साविक भुरुङ तातोपानी गाविसको कुल ६९ लाख ५४ हजार २०४ रुपैया बराबरको आम्दानी खर्च विवरण सार्वजनीक गर्नुभएको थियो । गत वर्ष सडक निर्माण, स्तरवृद्धी, ढल निकास, मन्दिर निर्माण, सामुहिक कुखुरापालन, सार्वजनीक शौचालय, विद्यालयमा पूर्वाधार निर्माण, लक्षित समुदायको क्षमत्ता तथा विकास सम्बन्धि योजना निर्माण र कार्यक्रम सञ्चालन भएका थिए ।

कार्यक्रममा सहभागि जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीले समयमा बजेट निकासा नहुने समस्याका कारण काम गर्न अप्ठ्यारो परेको गुनासो गरेका थिए । थोरै थोरै बजेटका टुक्रे योजना भन्दा ठूलो बजेटमा प्राथमिकता प्राप्त आयोजना सञ्चालन गर्नुपर्नेमा उनिहरुको सुझाव थियो । उपभोक्ता समितिका प्रतिनिधिहरुले अनुगमन समिति सक्रिय हुनुपर्ने र स्थानीय स्तरमा दक्ष जनशक्ती तयार गर्नुपर्ने अनुभव ब्यक्त गरेका थिए ।

वडा अध्यक्ष ओमप्रकाश फगामीले स्थानीय तहको स्थापनासंगै विकासका लागि अब सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको र विकास निर्माण तथा समुदाय परिचालनमा सघाउन प्रत्येक बस्तीमा टोल सुधार समिति गठन गरिएको बताउनुभयो । उहाँले सडक स्तरवृद्धी, पर्यटन प्रर्वद्धन, विद्युतीकरण, खानेपानी, सिचाई र आयआर्जन वृद्धीका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिदै बजेटको प्रभावकारी परिचालनका लागि अनुगमन, समन्वय र जनसहभागीतामा जोड दिने प्रतीवद्धता जनाउनुभयो । सार्वजनीक सुनुवाई कार्यक्रमको सहजिकरण सन्तोष गौतमले गर्नुभएको थियो ।

यसैगरी भुरुङ तातोपानीका सरोकारवालाहरुलाई पूर्ण सरसफाईयुक्त गाउँ बनाउन उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका अगुवा वास सहजकर्ता बिष्णु पौडेलले पूर्ण सरसफाईको सूचक र ब्यवहार परिवर्तनका विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा ६ वटा टोल सूधार समितिलाई सार्वजनीक स्थलको सरसफाई तथा फोहोर व्यवस्थापनका लागि २७ वटा डस्टबिन र १५ वटा फेलेक्स प्रिन्ट वितरण गरिएको थियो । वडा अध्यक्ष फगामीको अध्यक्षता, सचिव पालको सञ्चालन र वडा सदस्य वुद्धीबहादुर पुनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम समापन पछि भुरुङ तातोपानीका राजनितिक दल, जनप्रतिनिधि, युवा कल्व, आमा समूह र स्थानीय बासीन्दाले सरुवा भएका वडा सचिव पालको बिदाई, गाउँ कार्यपालीका सदस्य आत्मा तुलाचन र नवआगन्तुक वडा सचिव खेमराज पौडेललाई स्वागत गरेका थिए ।
उत्कृष्ट काम गरेको भन्दै तातोपानी मान्द्रेढुङ्गा सडक उपभोक्ता समिति, तातोपानी कल्भर्ट र ढल निर्माण समितिलाई सम्मान गरिएको थियो ।