स्थानीय तहमा भू–उपयोग नीति कार्यान्वयन गर्नुपर्नेमा जोड
- २७ असार २०७४, मंगलवार
- 2355 पटक पढिएको
म्याग्दी, २७ असार । स्थानीय तहको दिर्घकालिन विकास र समृद्धिको लागि भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्नेमा बेनीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । राष्ट्रिय भू–उपयोग आयोजनाले मंगलवार बेनीमा आयोजना गरेको भू–उपयोग सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
सहभागिहरुले अहिले अव्यवस्थित रुपमा बस्ती विकास, विकास निर्माण लगायतका कार्यहरु भईरहेकाले यसले दिर्घकालिन रुपमा असर पु¥याउने भएकाले स्थानीय तहमा भू–उपयोग नीतिलाई कार्यान्वयन गर्नुपर्ने सुझाब दिएका थिए । सहभागि सरोकारवालाहरुले यस अघि विस्तार भएका बस्ती तथा बजारहरु कतिपय अव्यवस्थित भएकै कारण प्राकृतिक विपक्ति निम्तने, जोखिम बढी हुने, खेतीयोग्य जमिनमा बस्ती बस्ने, ग्रामीण जग्गाहरु बाँझीने समस्या देखिएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउन सकेमा यसले व्यवस्थित बस्ती विस्तार, प्राकृतिक प्रकोप तथा जोखिम न्युनिकरण, वातावरण संरक्षण, खेतीयोग्य जमिनको उचित प्रयोगमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नापी अधिकृत इन्जिनियर सुमिर कोइरालाले भू–उपयोग नीतीको उदेश्य, आयोजनाले गरेका गतिविधि र भू–उपयोग नीती कार्यान्वयनले ल्याउने सुधारहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । भूमि सुधार तथा व्यवस्था मन्त्रालय अन्र्तगत रहेको यस आयोजनाले यो नीति कार्यान्वयनको लागि गर्ने चरणहरु र कार्यान्वयनमा हुने निकायहरुको बारेमा जानकारी दिँदै यो नीती कार्यान्वयनको लागि छिट्टै ऐन निर्माण हुँदै गरेको बताउनुभयो । जिल्ला मालपोत अधिकृत कृष्णबहादुर बानियाँले स्वागत गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका कार्यालयको मेयर हरिकुमार श्रेष्ठ सहित सकारी तथा गैर सकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन आयोजनाकी सरीता गौतमले गर्नुभएको थियो ।