भिरकाटेमा सडक मर्मत गरेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी सुचारु
- २४ असार २०७४, शनिबार
- कमल खत्री
- 4732 पटक पढिएको
म्याग्दी, २४ असार । तीनदिनदेखि अबरुद्ध बनेको बेनी –जोमसोम सडकखण्डमा शनिवार साँझदेखि सिधा सवारी सुचारु बनेको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेमा कालीगण्डकी नदीले सडक बगाएको स्थानमा अस्थायी संरचना निर्माण गरि यातायात सुचारु गराईएको हो ।
कालिगण्डकीले बगाएको करिब २० मिटर सडकमा डोजर र ट्रिपरको सहायताले ठुला–ठुला ढुंगा राखेर अस्थायी सडक निर्माण गरिएपछि सिधा सवारी सुचारु भएको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा पानीको बहाब उच्च रहेकाले स्थायी संरचना निर्माण गर्न नसकिएको हो ।
अविरल बर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च भएपछि तीनबर्ष अघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको थियो । शुक्रवार दिउँसोदेखि निरन्तर रुपमा डोजर र ट्रिपर परिचालन गरि अस्थायी रुपमा एकतर्फी सवारी आवत जावत हुने गरि अबरुद्ध सडक खुलेपछि यात्रुहरुलाई गन्तव्यमा पुग्न सहज भएका अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुनले बताउनुभयो ।
नदी कटानले सडक बगाएपछि सिधा सवारी सुचारु नहुँदा बेनी, पोखरा र काठमाडौबाट मुस्ताङका लागि छुटेको सवारी साधनहरु भीरकाटेमै रोकिएका थिए भने जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रकहरु पोखरेबगरमै रोकिएका थिए । सडक खुलेसंगै ति सवारीसाधनहरु गन्तव्यमा पुग्न थालेका छन् ।
यो सडकमा जिप, बस तथा मालबाहक ट्रकहरु गरि दैनिक २ सय सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् । मुस्ताङलाई राजमार्गसंग जोड्ने एकमात्रै बेनी–जोमसोक सडक खण्डमा बर्षातसंगै हरेक बर्ष सवारी अबरुद्ध हुँदै आएको छ ।
यो सडकको स्तरोन्नतीको लागि योजना सञ्चालन भएपनि प्रभाबकारी कार्यान्वयन नहुँदा सडकखण्डको अधिकाँश जिर्ण सडकमा जोखिमपूर्ण तवरले सवारी साधन सञ्चालन हुँदै आएको छ । यो सडक खण्ड अन्र्तगत अधिकाँश सडक हिलाम्मे र जिर्ण भएको कारण यातायात व्यवसायिहरुले जोखिमपूर्ण तवरले यातयातका साधन चलाउनुपर्ने बाध्यता रहेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l