म्यानमारमा सैनिक बरवर्ता : एकैदिन ११४ प्रदर्शनकारीको हत्या, अन्त्येष्टिमा समेत गोली चल्यो

  • १५ चैत्र २०७७, आईतवार
  • 1331 पटक पढिएको

एजेन्जी
चैत १५ गते । प्रजातान्त्रीक व्यवस्थालाई अपदस्त गर्दै सैनिक कु भएको म्यानमारमा ठुलो संख्यामा मानिसहरुको हत्या भैरहेको छ । म्यानमारमा शनिबार मारिएका ११४ जना प्रर्दशनकारीको अन्त्येष्टिमा भाग लिएका मानिसहरुमाथि सुरक्षा बलले गोली चलाएको छ । आइतबार यान्गोन नजिकै बागो टाउनमा आयोजित एक अन्त्येष्टि कार्यक्रममा चलेको गोलीबारीमा के कति क्षती पुग्यो भन्नेबारे यकिन जानकारी नभएको रोयटर्स न्यूज एजेन्सीले तीन जनासँगको कुराकानीपश्चात् जानकारी दिएको छ ।

‘जब हामी क्रान्तिका गीत गाइरहेका थियौं तब सुरक्षा बल त्यहाँ पुगेर हामीमाथि गोली बर्साउन थाले,’ आय नामकी एक महिलाले भनिन्, ‘गोली चल्ने बित्तिकै हामीजस्तै थुप्रै मानिस त्यहाँबाट भाग्यौं ।’यद्यपि, आइतबार अर्को एक स्थानमा चलेको गोलीका कारण दुईजनाको मृत्यु भएको छ । घटनाका प्रत्यक्षदर्शी तथा सामाचारका रिपोर्टले यसबारे जानकारी दिएको छ । म्यानमारको नेपिडमा आयोजित एक प्रदर्शनमा सुरक्षाबलको गोली लागेर एकजनाको मृत्यु भएको नाउ न्यूजले जानकारी दिएको छ ।

आइतबार म्यानमारमा व्यापक मात्रामा खासै कुनै विरोध प्रदर्शन भएनन् । यद्यपि, विभिन्न स्थानमा अन्त्येष्टि कार्यक्रम भने आयोजना भएको थियो । शनिबार मारिएका ११४ जनामध्ये ६ जना १० देखि १६ वर्ष उमेरका बालबालिका पनि रहेका छन् । जापान, दक्षिण कोरिया, यूनाइटेड किङ्गडम र युनाइटेड स्टेट्सले आइतबार एक संयुक्त वक्तव्य जारी गर्दै सैन्य कूको विरोध गरेका छन् । यो वक्तव्यमा अन्य देश जस्तै, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, ग्रीस, इटली, नेदरल्याण्ड र न्यूजिल्याण्डले हस्ताक्षर गरेका छन् ।