हिमाल आरोहणमा म्याग्दीका पुर्जा सहितको नेपाली टोलीले रच्यो नयाँ इतिहास

  • ४ माघ २०७७, आईतवार
  • 1251 पटक पढिएको

म्याग्दी ४ माघ । हिमाल आरोहणमा म्याग्दीका निर्मल पुर्जा सहितको १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् । कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निर्मल पुर्जा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका हुन् । टोलीले स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको पुर्जाले जानकारी दिए ।


सगरमाथाभन्दा केटु २ सय मिटरमात्रै होचो छ । यो कारकोरम पर्वत श्रृङ्खलाको पहाड हो जुन पाकिस्तान–चीनको सीमामा फैलिएको छ । लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिँदै आएको छ । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए र उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए । सुरुमा नेपाली पर्वतारोहीको तीनदेखि चार समूह माउन्ट केटूको आरोहणमा निस्किएको थियो । यसमा कूल ६० जना थिए ।

तर अन्त्यमा १० नेपालीको एक समूह बन्यो र यो ऐतिहासिक उपलब्धि नेपालको नाममा पर्यो । यूके स्पेशल बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो आरोहण गरेपछि उत्सव मनाउँदै त्यहाँको तस्बिर साझा गरेका छन् । उनीहरुको यो उपलब्धिको पुष्टि पर्वतारोहणका आयोजक ‘सेभेन समिट ट्रेक’ ले पनि गरेका छन् । पहिलो पटक सन् १९८७–१९८८ मा केही विन्टर पर्वतारोहीले केटु आरोहण गर्ने कोसिस गरेका थिए तर अहिलेसम्म कुनै पनि पर्वतारोहीले गर्न सकेका थिएनन् ।