नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान

  • २७ पुष २०७६, आईतवार
  • 4157 पटक पढिएको

 

प्रा.डा. कर्णबहादुर बानियाँ

                                          विषय प्रवेश  :
नेपाल एसिया महादेशका दुई विशाल मुलुक भारत र चीनकोबीचमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो देश थुप्रै सानासाना राज्यहरूलाई एकीकृत गरी निर्माण गरिएको हो । यो राष्ट्रको निर्माण कार्यमा थुप्रै नेपाली सपुतहरूको योगदान रहेको छ । ती सपुतहरूमध्येका एक हुन्, पृथ्वीनारायण शाह । उनले यो राष्ट्रको निर्माणमा के कस्तो योगदान दिएका थिए ? र त्यसका लागि उनले कस्तो नीति अवलम्बन गरेका थिए ? भन्ने सवालहरूको जवाफ खोज्ने उद्देश्यले यो लेख पत्र तयार गरिएको छ ।
पृथ्वीनारायण शाहका योगदानहरू
(१) आधुनिक नेपालका निर्माता
आधुनिक भन्ने शब्दको अर्थ हुन्छ ‘नयाँ’ । पृथ्वीनारायण शाहले आफ््नो राज्यलाई नयाँ बनाउने लक्ष लिएका थिए । उनी गोरखा राज्यको राजगद्दीमा बस्दा वर्तमान नेपालको भौगोलिक क्षेत्रमा पूर्णरूपमा कृषिमा आधारित अर्थव्यवस्था भएका थुप्रै सानासाना राज्यहरू थिए । उनले ती राज्यहरूलाई एकीकृत गरेर राष्ट्रिय राज्यको निर्माण गर्ने लक्ष्य लिएका थिए । यस कार्यमा उनी मस्र्याङ्दीदेखि पूर्व टिष्टासम्मको भूगोललाई एकीकृत गरी विशाल गोरखा राज्य निर्माण गर्न सफल पनि भए जसलाई हाल ‘नेपाल राष्ट्र’ भनिन्छ । उनले पूरा गर्न बाँकी रहेको काम आफ्ना अनुयायीहरूले गरुन र त्यसको सुरक्षा, सुदृढीकरण र संरक्षण गरून् भन्ने चाहन्थे । किनभने पृथ्वीनारायण शाहभन्दा अघिका खस, मल्ल र सेनवंशका शासकहरूले पनि आफ्नो राज्य विस्तार गरी विशाल भूभागमा फैलाएका त थिए तर त्यसलाई भाइभारदारले अंशवण्डा गरी अलगअलग राज्य बनाउने नीति लिएका हुनाले आलान्तरमा ती राज्य टुक्रिएर अनेकौं राज्य बनेका थिए ।

पृथ्वीनारायण शाहको समयमा पनि गोरखा राज्यको विस्तार गरी पूर्वमा टिष्टासम्म पु¥याएपछि उनका भाइहरूले राज्यलाई खण्डिकरण गरी अलगअलग राज्यको शासक बन्ने चाहना राखेका थिए । तर पृथ्वीनारायणले परम्परागत रूपमा रहेको राज्य विभाजन गर्ने पुरानो चलनलाई तोडेर नयाँ नीति अवलम्बन गरे । त्यो मामूली काम नभएर मध्यकालीन युगको अन्त्य गरेर आधुनिक युगको शुरुवात गर्ने एक युगान्तकारी घटना थियो । त्यसका लागि उनले आफ्ना भाइहरूको साथ र सहयोग गुमाउनु परेको थियो । साथै अनेकौं प्रकारका लाञ्छना पनि सहनु परेको थियो । त्यसकारण उनले भनेका छन्–“मेरा साना दुषले आज्र्याको मुलुक होइन. चार जात छत्तिस वर्णको फूलबारी हो. सबैलाई चेतना भया.” मध्यकालमा राजा नै सार्वभौमसत्ता सम्पन्न हुने भएकोले जुनसुकै राजाले आफ्नो मर्जीले राज्यका जुनसुकै काम पनि गर्नगराउन सक्दथे । तर राज्यलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्न मुलुकका जनताहरूको चाहना पनि बुझ्नु पर्दछ भन्ने पृथ्वीनारायण शाहको नीति थियो ।

त्यसकारण उनले विराज वखेतीलाई गोरखा राज्यको काजी बनाउने विचार हुँदाहुँदै पनि दुनियाँ र छिमेकीसमेतको चाहनालाई बुझेर कालु पाँडेलाई सो पदमा नियुक्त गरेका थिए । यो कुरा उनले आफ्नो उपदेशमा यसरी व्यक्त गरेका छन्–“मेरा मनमा ता विराजवषेतिलाइ कजाई दिन आटेको थियो तर ज्यादा बुद्धी कालुपाडेकै ठह¥यो र कालुपांडेलाई कजाञि भयाको हो.” । पृथ्वीनारायण शाहले जनताको योगदानको कदर नगर्ने मध्यकालीन परम्परा पनि तोडेका थिए । उनले नेपालको एकीकरण र सुदृढीकरण कार्यमा भाइभारदारहरूको मात्र होइन थुप्रै नेपाली सपुतहरूको योगदान छ भन्ने कुरासमेत मनन गरेका थिए । साथै प्रजाले सुख सुविधा नपाएमा राज्यको सुरक्षा हुन सक्दैन भन्ने कुरा पनि बुझेका थिए । त्यही कुरा मनन् गरी उनले आफ्नो उपदेशमा भनेका छन्– “प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.” । यसरी पृथ्वीनारायण शाहले मध्यकालीन सबै परम्परा तोडेर आफ्नो राज्यमा नयाँ परम्परा बसाल्नुकासाथै एकीकृत नेपाल राज्य निर्माण गर्नेे जग बसालेका थिए । त्यसकारण उनलाई आधुनिक नेपालका निर्माता भनिन्छ ।
(२) कला र संस्कृतिको संरक्षणमा जोड
पृथ्वीनारायण शाहले स्वदेशी कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिएका थिए । विदेशी कला र संस्कृतिलाई प्रोत्साहन दियो भने आफ्नो कला र संस्कृति लोप भएर जाने मात्र होइन मुलुकको धनसम्पत्तिसमेत विदेश जान्छ भन्ने उनको सोचाइ थियो । त्यसकारण उनले “मुगलाना नजिकै रहेछ.तेस जगामा छोकडा पत्रीया रह्याछन्. …रागतानमा बडो मोह हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनैले लैजान्छन् र हरिपले दगा गर्छ. रागको अभ्यास पनि कसैले नगर्नु. तिन जातलाई पाहाड आमफदरफपनि कसैले नषोल्नु. आफ्ना स्वषसयललाई ता सास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हे¥या पनि हुन्छ.” भनेका थिए । साथै उनले जुनजुन ठाउँ र राज्यउपर विजय हासिल गरे ती स्थानमा चलिआएको कला र संस्कृतिको श्रद्धापूर्वक सम्मान र संरक्षणसमेत गरेका थिए ।

योे कुरा कान्तिपुर विजयपछि कुमारीको रथयात्रा यथावत रूपमा सञ्चालन गराउन उनले देखाएको तत्परताले पुष्टि गर्दछ । यद्यपि पृथ्वीनारायण शाहको बाउन्न वर्षको अल्पायुमा नै निधन भएको हुनाले उनले एकीकरण कार्य पूरा गरी प्रशासनिक सुदृढीकरण र आर्थिक समृद्धिको काम गर्न पाएनन् । तापनि उनको मनमा मुलुकको प्रशासनिक सुदृढीकरण, सामाजिक सुधार र आर्थिक विकासका अनेकौं योजनाहरू थिए भन्ने कुरा “म पनि यस्ता बन्देजको बाह्र हजारको थीती बांधिजाला भन्या अबीलाषा थीयो” भन्ने उनको उद्गारबाट थाहा हुन्छ । उनका ती उद्गारहरूको आधारमा उनका योगदानको यसरी चर्चा गर्न सकिन्छ ।
(३) भ्रष्टाचार निर्मूल पार्ने नीति
भ्रष्ट मानिसहरूले शत्रु र मित्र चिन्दैनन् । आफ्नो मुलुकलाई शत्रुले घेरेको अवस्थामा पनि तिनलाई देशको रक्षा गर्ने कुरामा कुनै किसिमको चासो हुँदैन । तिनलाई त आफ्नो सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने मात्र चिन्ता हुन्छ । भ्रष्टाचारी व्यक्तिहरू त मुलुकका शत्रु हुन् भन्ने उनको चिन्तन थियो । अतः उनले भनेका थिए–“घुस् दिन्या र घुस् षान्या ईन दुईको ता जिव गरिलियाको पनि पाप छैन. ई राजाका महासतुर हुन्”
(४) असंलग्न परराष्ट्र नीति
पृथ्वीनारायण शाहले नेपालको भौगोलिक अवस्थितिलाई बुझेर “यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ.” भनेका थिए । साथै नेपालले आफ्नो अस्तित्व जोगाइराख्न दुई छिमेकी मुलुकसँग सौहाद्र्धपूर्ण सम्बन्ध राख्नुपर्ने कुरा यसरी व्यक्त गरेका थिए–“चीनका वादसाहसित ठुलो घाहा राषनु.दषिनको बादसाहसित घाहा त राषनु. तर त्यो महाचतुर छ.” । साथै उनले छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध बनाइ राख्नु र आफूले कहिल्यै निहु नखोज्नु भन्ने उपदेश दिएका थिए । तर कसैले आफ्नो राज्यमा हमला गरे भने गुरगिन खाँको फौजलाई मकवानपुरमा र किनलकको मिसनलाई सिन्धुलीगढीमा जसरी धुलोपिठो पारेर लखेट्न गोरखाली फौज सफल भयो त्यसरी जीउज्यान दिएर लड्न तयार हुनु भन्ने अर्ति दिंदै उनले छिमेकीसँग “जाइ कटक नगर्नु. झिकी कटक गर्नु.” भनेका थिए ।
(५) राष्ट्रवादी अर्थनीति
आफ्नो देशको विकास र समृद्धिका लागि स्वतन्त्र अर्थनीति हुनु पर्दछ । त्यसका लागि आफ्नो देशको कृषि उत्पादन बढाउनु पर्दछ भन्ने कुरा मनन् गरी उनले भनेका थिए– “गह्रो बन्न्या जग्गामा घर भयापनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.” । साथै आधुनिक युगमा खानीको महत्वलाई बुझेर यसो भनेका थिए– “षानि भयाका ठाउमा गाउ भया पनि गाउ अरु जगामा सारिकन पनि षानि चलाउनु.” । आफूलाई आवश्यक पर्ने लत्ताकपडा आफैले तयार गर्नुपर्दछ भन्ने कुरामा जोड दिंदै उनले भनेका थिए–“आफ्ना देसका कपरा बन्न जान्न्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगत विदेस जादैन”
विदेशी व्यापारीहरू आफ्नो मुलुकमा पसे भने स्वतन्त्र अर्थव्यवस्था खतम गरी दलाल अर्थव्यवस्था ल्याउने छन् भन्ने उनको दूरदृष्टि थियो । त्यसकारण उनले–“देसका महाजनलाई गोडप्रसाहदेषी उभो आउन नदिनु. देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनिञा कंगाल गरि छाड्दछन्.” भनेका थिए ।
निष्कर्ष
नेपालको भूगोल सदैव अखण्ड रहनु पर्दछ । यस मुुलुकको कुनै पनि भूभागमा कोही कसैले आँखा लगाउन दिनु हुँदैन भन्ने कुरा जुनसुकै राष्ट्रप्रेमी नेपालीले सोच्नु स्वभाविक हो । तर बेलाबखतमा विभिन्न कोणबाट यस देशको भौगोलिक अखण्डताप्रति धावा बोल्ने गरेको पाइन्छ । त्यस्ता कुकृत्यलाई परास्त गर्न समस्त नेपालीहरू सदैव एकजुट भएर लाग्न सकेमा पृथ्वीनारायण् शाहाले निर्माण गरेको एकीकृत नेपालको अस्तित्व जोगिने छ । वर्तमान समयमा नेपाल भ्रष्टाचार हुने मुलुकको १२४ औं स्थानमा छ । नेपालमा बिना कमिसन र बिना रिसवत कुनैपनि सरकारी वा गैरसरकारी निकायमा काम हुनसक्दैन । भ्रष्टाचार हुन नदिन सम्पूर्ण नेपालीहरू एकजुट हुन सकेमा पृथ्वीनारायण शाहको सच्चा अनुयायी हुन सकिनेछ ।

नेपालमा उत्पादनमूलक क्षेत्रमा कुनै किसिमको लगानी हुँदैन । एकातिर उब्जाउशील जमिन बाँझो पल्टिएको छ भने अर्कोतिर बेरोजगारीले पीडित जनताको संख्या दिनानुदिन बढ्दो छ । कतिपय उर्वरा भूमि खण्डिकरण गरेर घडेरीमा परिणत गरिएको छ । कृषि क्षेत्रमा हे¥यो भने पृथ्वीनारायण शाहका नीतिको पूर्णरूपमा उल्लंघन भएकोे पाइन्छ जसको फलस्वरूप कृषि प्रधान भनेर चिनिने मुलुक नेपालमा खाद्यान्न, फलफूल, तरकारी र मासुसमेत भारत, चीन र तेस्रो मुलुकबाट आयात हुन्छ । यो देशको अर्थतन्त्र (प्राकृतिक साधन स्रोत र मानव जनशक्तिसमेत) दलालहरूको हातमा छ । युवापिंढी विदेश पलायन भइरहेको छ । यस किसिमको परनिर्भरता हटाउन कृषि उत्पादन बढाउने, खानी सञ्चालन गर्ने, उद्योग खोल्ने, जलविद्युत निकाल्ने र युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने जस्ता कार्यलाई कार्यान्वयन गर्न सकेमा पृथ्वीनारायण शाहका सपना पूरा हुनेछन् ।

नेपाल अहिले पनि दुई विशाल देश भारत र चीनकोबीचमा रहेको हुनाले पृथ्वीनारायण शाहले भनेजस्तै दुई ढुङ्गाकोबीचको तरुल जस्तै छ । दुई ठूला छिमेकीको बीचमा सन्तुलन मिलाइकन आफ्नो देश र जनताको हित अनुकुल निर्णय लिन तथा त्यसलाई कार्यान्वयन गर्न नेपालका शासकहरूलाई निकै सकस भएको छ । त्यसमा पनि दक्षिणको छिमेकी मुलुक भारतका शासकहरूले अङ्ग्रेजहरूकै पालादेखिको छलछाम र चतुर¥याइँ प्रदर्शन गर्ने नीति अपनाइरहेको हुनाले भारत र नेपालबीच अहिलेसम्म भएका सबै सन्धि सम्झौतामा नेपाल ठगिएकै छ । त्यसकारण पृथ्वीनारायण शाहले भनेजस्तै नेपालले चीन र भारत दुवै देशसँग बुद्धिमत्ता तरिकाले कुटनीतिको सहारा लिएर तथा निडर भै आपसी समस्याको समाधान गर्नु सक्नुपर्दछ ।

जुनसुकै महान व्यक्तिको पनि उसका नीतिको अनुसरण गरी उसका कार्यलाई अगाडि बढाउने अनुयायी भएन भने उसका उद्देश्य र लक्ष्य विस्तारै हराएर जान्छन् । यदि बहादुर शाह नभएको भए पृथ्वीनारायण शाहका नीति, विचार र उद्देश्यहरू पनि विस्तारै हराएर जाने थिए । बहादुर शाहले नेपालको भूगोल एकीकरण गर्ने कार्यलाई अगाडि बढाए । उनले पश्चिममा मस्र्याङ्दीसम्म मात्र पुगेको नेपालको सिमाना महाकालीसम्म पु¥याएका थिए । तर बहादुर शाहको योगदानलाई कदर गर्नुुको सट्टा उनलाई निर्दयतापूर्वक कालकोठरीमा कोचियोे जहाँ उनको दुखान्ततवरले अवसान भयो । त्यही बेलादेखि नै पृथ्वीनारायण शाहका नीतिको उल्लंघन गर्ने तथा नेपाल राष्ट्र निर्माणमा योगदान गर्ने व्यक्तिहरूलाई अनादर गर्ने क्रियाकलाप शुरु भयो जुन अद्यापि विद्यमान छ ।

पृथ्वीनारायण शाह सद्गुण मात्र भएका व्यक्ति थिए भन्नु उनलाई देवत्वकरण गर्नु मात्र हुनेछ । उनमा कतिपय मानवीय कमजोरीहरू थिए । जयन्त रानालाई दिइएको कठोर दण्ड, इशाइ पादरी र नागा वैरागीहरूलाई आफ्नो मुलुकबाट निष्काशन गर्दा अपनाइएको नीति, पूर्व र पश्चिमका खस ब्राह्मणप्रतिको उनको दृष्टिकोण एवं कीर्तिपुरका जनताउपर गरिएको ज्यादती जस्ता कार्यले पृथ्वीनारायण शाहलाई आलोचनाको पात्र बनाएका छन् । तथापि विराट लक्ष्य र उद्देश्य पूरा गर्दा भएका झिनामसिना गल्ती कमजोरीलाई उछालेर उनले गरेको महान कार्यलाईसमेत दुत्कार्नु भने न्याय संगत हुन सक्दैन ।

अन्त्यमा, यदि हामी एक्काइसौं शताब्दीका सचेत नागरिक हौं भन्ने गर्व गर्छौं र पृथ्वीनारायण शाहका सच्चा अनुयायी बन्न चाहन्छौं भने सर्वप्रथम नेपाल राष्ट्र निर्माणमा योगदान पु¥याउने सम्पूर्ण नेपाली वीर सपुतहरूको योगदानको कदर गर्न सिक्नु पर्दछ । अर्को कुरा ‘राष्ट्र निर्माण’ भनेको भूगोलको एकीकरण मात्र होइन त्यो भूगोलभित्र बसोबास गर्ने सम्पूर्ण जातिजनजातिको कदर र सम्मान गरी समस्त जनतालाई एकताको शुत्रमा आवद्ध गर्नु हो भन्ने कुरालाई आत्मसात गर्न सकेमा मात्र “प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.” भन्ने पृथ्वीनारायण शाहको उद्गारको सार्थकता हुनेछ । साथै पृथ्वीनारायण शाहका योगदानहरूको पनि कदर हुनेछ ।
सन्दर्भ सामग्री
आचार्य, बाबुराम, २०६१, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, (दोस्रो संस्करण), नेपाल ः श्री ५ महाराजाधिराजका संवाद सचिवालय, राजदरबार ।
पन्त, नयनराज र अरू, २०२५, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, (पृ.१–४००), ललितपुर ः जगदम्बा प्रकाशन ।
श्रेष्ठ, अमन र अरू, २०६६, नेपाल–भारत र चीन सन्धि (समीक्षात्मक विवेचना), काठमाडौं ः मधुवन प्रकाशन ।
बज्राचार्य, भद्ररत्न, सन्१९९३, बहादुर शाह ः द रिजेन्ट अफ नेपाल, न्यू दिल्ली ः अनमोल पब्लिकेशन्स ।
वैद्य, तुल्सीराम, सन् १९९३, पृथ्वीनारायण शाह द फाउण्डर अफ मोडर्न नेपाल, न्यू दिल्ली ः अनमोल पब्लिकेशन्स ।

२०७६ पौष २६, भरतपुर, चितवन ।