निर्वाचन आचार संहिताको पालना र म्याग्दीको विकासमा उम्मेदवारहरुको ऐक्यबद्धता

  • १७ माघ २०८२, शुक्रबार
  • 1 पटक पढिएको

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको विकासमा सबै दलहरुबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजले शुक्रवार बेनीमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग पत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीको विकाससंगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेण्डा बनाएर आफु चुनाबमा होमिएको बताउनुभयो । उहाँले मुलुकमा बदलिँदो अवस्था अनुरुप काँग्रेस बदलिएको बताउँदै मुलुक बदल्ने अभियानको नेतृत्व पनि काँग्रेसले गर्ने बताउनुभयो । ‘‘ हामी विकास, समृद्धि र सुशासनलाई एकैसाथ अघि बढाउन चाहन्छौँ, पार्टीभित्रको समस्या हल गरेर हामी मुलुकको समस्या समाधानमा केन्द्रित भएका छौँ, आगामी संसदमा नीति निर्माण गर्ने कार्यमा सक्रियतापूर्वक लाग्न र जिल्लाको विकासलाई थप गति दिन हामीलाई जनताले मतदान गर्ने अपेक्षा गरेका छौँ’’– भण्डारीले भन्नुभयो ।
कार्यक्रममा नेक एमाले म्याग्दीबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकासका मुद्धाहरुलाई चुनाबी घोषणापत्रमा समेटेर अघि बढ्न विज्ञ सहितको टिमबाट चुनाबी घोषणा पत्र तयारी गरेको बताउनुभयो । उहाँले कानुन निर्माण, सरकार गठन र बजेट तथा कार्यक्रम निर्माणको क्षेत्रमा आफुले सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाउँदै जिल्लाको कृषि, शिक्षा, सडक, पूर्वाधार लगायतको क्षेत्रमा आबश्यक सुधारको लागि मुख्य एजेण्डा तय गरेको बताउनुभयो ।
कार्यक्रममा , नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरेले जिल्लामा एकिकृत गुरुयोजना बनाएर विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्य उपचार लगायतलाई राज्यको मातहत राख्र्दै भष्ट्राचार निवारण र सुशासनका लागि आफुलाई मतदान गर्न आह्वान गर्नुभएको छ । कार्यक्रममा रास्वपाका उम्मेदवार युवराज रोका, राप्रपाका उम्मेदवार डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्माले समेत जिल्लाको पूर्वाधार निर्माण, सुशासन र मुलुकको आबश्यकता अनुसारको काननु निर्माणका लागि संसदमा प्रभाबकारी भूमिका खेल्न आफुहरु उम्मेदवार बनेर आएकोमा जोड दिनुभएको थियो । कार्यक्रममा उम्मेदवारहरुले सहभागीहरुले उठाएका पश्न र जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले उम्मेदवारहरुबिच मैत्रिपूर्ण प्रतिस्पर्धाको वातावरण सिर्जना, निर्वाृचन आचार संहिताको पालना, जनताका प्रश्नप्रति उत्तरदायी बनाउँदै जिल्ला र मुलुकको विकास र समृद्धिमा उम्मेदवारहरुका प्रतिबद्धता खोज्न कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । म्याग्दी जेसीज र नेपाली जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष तथा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत रुपमा उम्मेदवारहरुलाई पश्न राख्नुभएको थियो । कार्यक्रम संयोजक सज्जन श्रेष्ठ,महासचिब गोकुल विकले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले सहजीकरण गर्नुभएको थियो । म्याग्दीमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।