हराएको ५५ वर्षपछि घरपरिवारसंग पुनर्मिलन
- २१ माघ २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ बर्षपछि परिवारसंग पुनर्मिलन भएको छ । २१ बर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैंचामा काम गर्ने तुलाचन एकसाता अगाडी विभिन्न माध्ययमबाट परिवारको सम्पर्कमा आएको उहाँका साहिला दाई कृष्णप्रसाद तुलाचनले बताउनुभयो ।
‘‘ हामी अहिले मंगला गाउँपालिका–५ पाखुमा बस्दै आएका छाँै, लाहुरे हुने भनेर गएको भाई घर आउने आस नै मारेका थियौँ, बुढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्ययमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको ’’– उहाँले भन्नुभयो । कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुसीयाली छाएको छ । धनबहादुरलाई दाई कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ ।
तत्कालिन समयमा मल्कबाङबाट ठाडाखानी हुदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाई छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताउनुभयो ।