नेकपाका उमेद्वार अर्जुन थापाको पोखराका मतदातासँग भेटघाट र अन्तरक्रिया

  • १८ माघ २०८२, शनिबार
  • 1 पटक पढिएको

बेनी, १७ माघ । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उमेद्वार थापा सहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधी, नेकपाका नेता र पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा म्याग्दी जिल्लाको हालको अवस्था, समस्या, आवश्यकता, जिल्लामा सञ्चालित विकास आयोजना र आगामी योजना तथा कार्यक्रमहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै शुसासन, सामाजिक न्याय सहितको आर्थिक सम्बृद्धी हासिल गर्नका लागि नेकपाको जित आवश्यक रहेको बताउनुभयो ।

विगतदेखि हालसम्म म्याग्दीमा नेकपाको पहल र अगुवाइमा शुरु भएका विकास योजना देखि सामाजिक क्षेत्रमा भएका कामलाई पूर्णता दिनका लागि युवा नेतृत्वलाई उमेद्वार बनाएको पौडेलले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले भावना, आग्रह र पूर्वाग्रह भन्दा पनि सक्षम र योग्य नेतृत्व चयन भएमा मात्र म्याग्दीबासीको अपेक्षा पुरा हुने बताउनुभयो । म्याग्दीको विकासका लागि टिम बनाउन म्याग्दीलाई चिनेको र सिंहदरबार बुझेका थापालाई उमेद्वार बनाएको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य हरि भण्डारीले म्याग्दीबासीले नेकपाका जनप्रतिनिधीले गरेका काम हेरेर मतदान गर्ने अपेक्षा गर्नुभयो । विगतमा गरेका प्रतिवद्धता अनुसार केही काम भएका, केही शुरु भएका बताउदै उहाँले बाँकी काम गर्न आफूहरुलाई साथ चाहिएको बताउनुभयो ।
थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा हाँसिल गरेको अनुभवलाई म्याग्दीको विकास तथा सम्बृद्धि, शुसासनका पक्षमा लगाउन उमेद्वार बनेको बताउनुभयो । “शुसाषन कायम गराउनका लागि भ्रष्ट्राचारको अन्त्यका साथै नीति निर्माण र योजना तथा बजेट मार्फत म्याग्देलीको भावना र आवश्यकतालाई सम्बोधन गराउने मेरो मुख्य मुद्दा हो,” उहाँले भन्नुभयो “पूर्वाधार विकासको जगमा टेकेर म्याग्दीलाई पर्यटन, कृषि र जलविद्युत मार्फत सम्बृद्ध बनाउने मेरो योजना छ ।”

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र वडा नं. १ का अध्यक्ष झकबहादुर छन्त्यालले म्याग्दीको सन्तुलित विकासको अवधारणा अघि सारेर दुर्गम क्षेत्रको विकासमा प्राथमिकता दिने नेकपाका प्रतिनिधीले जितेमा काम गर्न सहज हुने बताउनुभयो ।कार्यक्रममा ताकम–धारापानी समाज पोखराका अध्यक्ष झलक थापा, नेकपाका बेनी नगर अध्यक्ष नगेन्द्र केसी, सुकबहादुर रसाइली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । लोकनाथ भट्टराईको अध्यक्षता, बेलबहादुर परियारको सञ्चालन, ओम पुनको स्वागतमा सम्पन्न कार्यक्रममा डेकबहादुर बिकले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।