लुलाङमा नेकपाको घरदैलो–‘प्रतिवद्धता पुरा गरेका छौ, थप काम गर्न हामीलाई जिताउनुहोस’

  • २१ माघ २०८२, मंगलवार
  • 28 पटक पढिएको

बेनी, २० माघ ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापा सहितका नेताहरुले धवलागिरी गाउँपालिका–२ लुलाङका बासिन्दासँग यसअघि गरेका प्रतिवद्धता पुरा गरेको र थप काम गर्न आगामी निर्वाचनमा जिताउन आग्रह गरेका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका नेकपाका उमेद्वार थापाले म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ति लुलाङबाट मतदाता भेटघाट शुरु गर्नुभएको हो ।

उमेद्वार थापाले दलित लगायत पछाडी परेका समुदायको आवाजलाई संसदमा प्रतिनिधित्व गर्ने र स्थानीय विकासका मुद्दामा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले लुलाङ–गुर्जा हुदै डोल्पा सडक सञ्जालमा जोड्न सम्भाव्यता अध्ययन गरेर योजना अघि बढाउने तथा बेनी–ढोरपाटन–रुकुम जोड्ने सडकलाई प्राथमिकता दिने बताउनुभयो । नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले गत निर्वाचनमा आफूहरुले लुलाङबासीहरुसँग गरेको प्रतिवद्धता पुरा गरेको बताउदै स्थानीय आवश्यकताका थप काम गर्नका लागि आसन्न निर्वाचनमा नेकपाका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो ।

“लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली र सडक ल्याउने प्रतिवद्धता पुरा गरेका छौ, दरखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ,” उहाँले भन्नुभयो “जनताको पक्षमा काम गरेको र आवाज उठाएका छौ । आसन्न चुनावमा अर्जुन थापालाई जिताएर मेरो जोडि बनाउन सहयोग गरिदिनुहोस् ।” गत जेठ महिनामै लुलाङमा केन्द्रिय लाइन पुगेकाले मिटरबक्स जडान र वायरिङ गरेर जतिसक्दो छिटो केन्द्रिय लाइनको बिजुली बाल्न जुग्जालीले आग्रह गर्नुभयो ।

लघुजलविद्युत परियोजना बिग्रिएर हैरान हुने भएकाले विद्युतीकरणबाट लाभ लिन आग्रह गर्नुभयो । नेकपाका केन्द्रिय सदस्य गमबहादुर श्रीसले विभिन्न नेपाली कम्युनिष्ट पार्टी नेपालका प्रमुख कम्युनिष्ट पार्टी भएको दावी गर्दै सामाजिक न्याय, शुसासन र सम्बृद्धिको मुद्दालाई प्राथमिकता दिएको बताउनुभयो । नेकपाका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिकले दलितलाई अधिकार दिलाउने र सामाजिक जागरण ल्याउने पार्टीलाई दलित समुदायले साथ दिने विश्वास व्यक्त गर्नुभयो । नेकपाका उमेद्वारहरुको टोलीले मंगलबार धवलागिरी गाउँपालिका–४ मुदीका मतदाताहरुसँग भेटघाट र घरदैलो पनि गरेका छन् ।