दशैँमा भेडाखसी बेचेर एउटै गोठबाट रु २० लाख बढी आम्दानी

  • १ कार्तिक २०७६, शुक्रबार
  • 2658 पटक पढिएको

म्याग्दी, १ कात्तिक । दशैँको अवसरमा भेडाखसी विक्रि गरेर यहाँका एक किसानले एकै महिनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरी गाउँपालिका –५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १ सयको हाराहारीमा भेडा, खसी, साँड र थुमा विक्रि गर्नुभएको हो ।


व्यापारीहरु गोठमै पुगेर भेडा खसी खरिद गरेको भेडापालक युवा कृषक छन्त्यालले बताउनुभयो । धवलागिरी हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक रु २० लाख बढीको भेडा खसी विक्रि भएपछि आफु उत्साहित बनेको उहाँले बताउनुभयो । छन्त्यालको गोठबाट साँढलाई २० देखि ३० हजार, थोमालाई १४ देखि १८ हजार, भेडालाई १३ देखि १७ हजार र खसीलाइ २५ देखि ३० हजार सम्ममा व्यवसायिहरुले खरीद गरेका थिए ।

दशैँको अवसरमा भेडा खसीको व्यापार गर्नको लागि मल्कबाङ, कुईनेमंगलले चिमखोला लगायतका ठाउँबाट व्यवसायिहरु गोठमै पुगेका थिए । गण्डकी प्रदेशमा रहेका ठुला भेडा फार्महरु मध्येमा पर्ने छन्त्यालको भेडाफार्ममा अझै ४ सय बढी भेडाहरु रहेका छन् । तिहारलाई लक्षित गरि १ सयको संख्यामा भेडा खसी विक्रि गर्ने तयारी गरेको कृषक छन्त्यालको भनाई छ ।


बैदेशिक रोजगारिको क्रममा मलेसियाबाट फर्किएर छन्त्यालले रु ६० लाख लगानीमा भेडापालन सुरु गर्नुभएको थियो । अहिले कुईनेमंगलेको नयाँवनमा रहेको भेडिगोठलाई मल्कबाङको मयाले हुँदै सिंकोस बगर लैजाने तयारी गरिएको छ । हिउँदमा बेसी झर्ने भेडिगोठ अहिले लेकमा छन । छन्त्यालको भेडिगोठमा अहिले २ जना गोठाला छन् । भेडिगोठको सुरक्षामा गोठालासंगै ‘भोटे कुकुर’ पनि राखिएका छन् । ‘‘गोठ र चरण क्षेत्रमा जंगली जनावरबाट जोगाउन कुकुर नै प्रमुख सारथि हो, कुकुरविना यसरी गोठ बस्न नै सकिँदैन’’–गोठाला याम गौचनले भन्नुभयो ।