गलेश्वर, राम र गायत्री मन्दिरको एकिकृत विकासको पहल
- ७ चैत्र २०७५, बिहीबार
- 2071 पटक पढिएको
सन्तोष गौतम
बेनी ७ चैत । कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेका म्याग्दी र पर्वतका तीन वटा धार्मिक स्थलको एकिकृत विकासको पहल गरिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनपा ९ स्थित गलेश्वरमा आउने भक्तजनलाई राममन्दिर र गायत्री मन्दिरमा भित्र्याउन पहल गरिएको हो ।
गलेश्वर बेनी नगरपालिकाको ९, राममन्दिर पर्वतको जलजला गाउँपालिका २ र गायत्रीमन्दिर रघुगंगा गाउँपालिकाको ३ नम्बर वडामा अवस्थित छ । यी तीन वटा धार्मिक स्थल ओदानका तीन वटा चुला जस्तै छन् ।
गलेश्वरमा धार्मिक पर्यटक र भक्तजनको चहलपहल बढेपनि नजिकै रहेका राममन्दिर र गायत्री मन्दिर ओझेलमा परेका छन् । गलेश्वरसँगै राम र गायत्री मन्दिरको विकासका लागि गलेश्वर देखि राममन्दिर जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ । १२१ मिटर लामो झोलुङ्गे पुलले ओझेलमा रहेको राममन्दिरको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने राममन्दिरका संरक्षक केशवदासले बताउनुभयो । ‘कालीगण्डकी र रघुगंगा नदीको किनारमा तिन तर्फ रहेका तीन वटै धार्मिक स्थलको एकिकृत विकासका लागि यो झोलुङ्गे पुलले सहयोग पु¥याउने अपेक्षा छ’ केशवदासले भन्नुभयो ।
राममन्दिर देखि बेनी–जोमसोम सडकको किनारमा रहेको गायत्री मन्दिर जोड्ने कालीगण्डकी नदीमाथि यसअघिनै झोलुङ्गे पुल निर्माण भइसकेको छ । गलेश्वरदेखि रामन्दिर जाने आउने भक्तनका साथै स्थानीयबासीहरुलाई पनि आवत जावतमा सहज भएको छ । कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन राममन्दिर सेवा आश्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संरक्षित राममन्दिरमा वि.स २०६६, २०७२ र २०७४ मा आयोजित महायज्ञमा दाताहरुले गरेको सहयोगबाट पाहुनाघर, भान्छाकोठा, पुजारी तथा संरक्षक निवास, पुराना भवनको जिर्णोद्धार, प्रवचन सभाहल, ढल व्यवस्थापनका लागि नाली, शौचालय, खानेपानी र तटबन्ध निर्माण गरिएको छ । पूर्वाधार निर्माणमा दुई करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ ।
गौशाला सञ्चालन गरिएको छ । धौलागिरी हिमालको फेदी र रिखार क्षेत्रबाट बगेर आउने राहुघाट तथा मुक्तिनाथबाट आउने कालीगण्डकी नदीको संगम, विभिन्न धर्मशास्त्रमा उल्लेखीत कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार गलेश्वर नजिक रहेको तथा परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थल भएकाले राममन्दिरको प्रशस्त धार्मीक महत्व रहेको पण्डित कमलनयन गौतमले बताउनुभयो ।
मन्दिरमा दैनिक नित्य पुजा, हवन हुने गरेको छ । विश्वमा कालीगण्डकी नदीमा मात्र पाईने शालग्रामलाई संरक्षणका लागि मन्दिरमा संरक्षण गरेर राखिएको छ । राममन्दिर संरक्षण समितिको नाममा हाल २० रोपनी जग्गा छ ।
गलेश्वर–राममन्दिर झोलुङ्गे पुल संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले बनाएको हो । डिभिजनले गलेश्वर सहित बेनी नगरपालिका २ ज्यामरुककोट र बागलुङ नगरपालिका ५ मालिकाको सिमानामा २६० मिटर र मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङ स्थित कालीगण्डकी नदीमा १६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न हिमशिर निर्माण कम्पनीसँग तीन करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
अन्य पुलहरु २०७६ बैशाख महिनाभित्र पुल बनाइसक्ने लक्ष्य छ । यसैबिच पुल निर्माण सकेको १५ दिनसम्म पनि ठेकेदार कम्पनीले ज्याला नदिएपछि मजदुरहरु बिचल्लीमा परेका छन् । चार महिनासम्म पुल निर्माणमा खटिएर काम गरेका २२ जना मजदुरहरुले ज्याला नपाएपछि समस्यामा परेको गुनासो गरेका छन् । निर्माण कम्पनीको मजदुर नाइके यज्ञ लिम्बुले पुलबाट घाटा परेकाले ज्याला दिन नसकेको बताउँदै अर्को आयोजनामा काम गरेर मजदुरलाई भुक्तानी दिने बताउनुभयो ।