बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण
- ८ असार २०८२, आईतवार
- 1 पटक पढिएको
म्याग्दी, असार ८-
जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेको कस्तुरी कन्स्ट्रक्सनले ढलानको काम थालेको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्यारापिट बनाउन चालु आवमा नगरपालिकाले रु २५ लाख र सङ्घीय सरकारले रु २० लाख बजेट विनियोजन गरेको थियो ।
सो बजेटबाट खेलमैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । मलामी घरको माथिल्लो भागमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ । ‘बेनी मिनि रङ्गशाला’ म्याग्दी जिल्लाको प्राथमिकता प्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब १०० मिटर लामो प्यारापिट बनाइएको थियो ।
दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।
हाल नौरनौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको समूह खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले रु ५०र५० लाख बजेट व्यवस्थापन गरेको थियो । रासस