बुद्ध एकेडेमीमा तीज गीत एवम् दरखाने कार्यक्रम

  • २३ भाद्र २०७५, शनिबार
  • 1419 पटक पढिएको

बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार ‘तीज गीत एवम् दरखाने कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय—अभिभावक सम्पर्क समितिको आयोजना र विद्यालयको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले आ—आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा म्याग्दीका लोक गायक एवम् म्याग्दीकाली एफ.एमका स्टेशन संयोजक अमित विश्वकर्मा र म्याग्दीका चर्चित हाँस्य कलाकार रवि कार्कीले पनि साँस्कृतिक प्रस्तुति गर्नुभएको थियो ।


दुई सय बढी अभिभावकहरु सहभागि सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रवन्ध निर्देशक/संचालक राजकुमार थापाले अभिभावकहरुको साथ र सहयोगका कारणले विद्यालयले गुणात्मक प्रगति गर्दै गएको बताउँदै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । त्यसैगरी विद्यालय—अभिभावक सम्पर्क समितिका उपाध्यक्ष सावित्रा शाहले विद्यालयले शैक्षिक गतिविधिका अतिरिक्त मनोरञ्जनात्मक र रचनात्मक क्रियाकलापहरुलाई पनि प्राथमिकता दिई अभिभावकहरुहरुलाई समेत साथमा लिएर अघि बढेकोमा प्रशन्नता व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताका लागि आग्रह गर्नभयो ।

सोही अवसरमा विद्यालयबाट नियमित प्रकाशन हुँदै आएको साहित्यिक भित्ते पत्रिका ‘मञ्जरी’ वर्ष २,अंक २, पूर्णाङ्क १० को विद्यालयका संचालक मनप्रसाद थजालीले लोकापर्ण गर्नुभएको थियो । कार्यक्रम विद्यालय—अभिभावक सम्पर्क समितिका अध्यक्ष गेमवहादुर घर्तीको अध्यक्षता र शिक्षिका मीना कार्कीको संचालनमा सम्पन्न भएको थियो ।