डेढ करोड बढी लगानीमा घुमाउनेतालमा रिसोर्ट सञ्चालनको तयारी (फोटो फिचर)

जिल्लामै पहिलो स्विमिङ पुल हुने

  • १८ भाद्र २०७४, आईतवार
  • कमल खत्री
  • 5665 पटक पढिएको

म्याग्दी, १८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ को घुमाउनेतालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पर्ने घुमाउनेतालमा कालिगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनको लागि पूर्वाधार निर्माणको कामलाई तिब्र बनाउनुभएको छ ।


उहाँले त्यहाँ सञ्चालनमा रहेको पुरानो होटललाई खरिद गरि त्यसमा थप पूर्वाधार तयार गरि स्विमिङ पुल सहितको रिसोर्ट सञ्चालनको तयारी गर्नुभएको हो । चन्दले निर्माण गर्न लागेको रिसोर्ट सञ्चालनमा आएमा यो जिल्लाकै पहिलो स्विमिङ पुल सहितको रिसोर्ट हुनेछ ।


अहिले रिसोर्टको लागि पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुल लगायतको पूर्वाधार निर्माण गरिरहेको सञ्चालक चन्दले बताउनुभयो । उहाँका अनुसार, गत ६ महिनादेखि पूर्वाधार निर्माण थालेको सो रिसोर्टमा अहिलेसम्म ८० लाख बढी लगानी भईसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदा सम्म साढे १ करोड लगानी पुग्नेछ ।


‘‘ मैले यहाँ सञ्चालनमा रहेको रेष्टुरेण्ट खरिद गरि त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार निर्माण गर्न लागेको हुँ, जिल्लामा उत्कृष्ट सेवा सुविधा सहितको रिसोर्ट सञ्चालन गर्ने अबधारण अनुसार अगाडी बढेको छु, अब छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारी गरेको छु,’’–चन्दले भन्नुभयो ।

‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य सहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेल लगायत संगै स्थानीय उत्पादनहरुको स्वाद चखाउने बताउनुभयो । सुरुवातमा हरेक महिना एक दिन दोहोरी साझँ समेत राख्ने उहाँले बताउनुभयो ।

बेनी–जोमसोम आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्द समेत लिन सक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ चन्दले कुखुरा, हाँस र माछा पालनलाई समेत संगसंगै अगाडी बढाउनुभएको छ ।

माछापालनको लागि तीन वटा पोखरी निर्माण गरेका चन्दले अहिले १२ हजार भुराबाट माछापालन गर्नुभएको छ । कमनकार्प , ग्रासकार्प र सिल्भर कार्प जातका माछा पालन थालेका उनले थप ४० हजार माछाको भुरा मगाएको समेत जानकारी दिनुभयो । चन्दले अहिले २ सय कुखुरा पालेका छन भने तीन सय वटा हाँस पाल्ने योजना सहित आकर्षक खोर समेत निर्माण गरिसक्नुभएको छ ।

४ बर्ष सम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लागेका उनले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सिपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने बताउनुभयो । ‘‘ ४० देखि ५० जना सम्म न्युनतम रुपमा बास बस्न सक्ने गरि रिसोर्टको क्षमता विस्तार गर्दै छु, मिटिङ हल सहित पार्टी प्यालेस सहितका सुविधाहरु यहिबाटै प्रदान गर्ने गरि पूर्वाधार निर्माण भईरहेको छ’’– चन्दले भन्नुभयो ।


जिवनको महत्वपूर्ण समय वैदेशिक रोजगारिमा विताएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सिपलाई आफ्नै ठाउँमा रोजगारमुलक क्षेत्रमा लगानी गर्ने योजना अुनसार रिसोर्ट सञ्चालन गर्न लाग्नुभएको हो । रोजगारिको शिलसिलामा कतार, मलेसिया, कोरीया लगायतका मुलुकमा युवाअबस्थाको उर्जाशिल समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जना बढीले रोजगारि पाउने जानकारी दिनुभयो । अब केही दिन भित्रै रिसोर्टलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाई छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l