मतदाता धन्यबाद दिन नेता गाउँ–गाउँमा

  • १० जेष्ठ २०७४, बुधबार
  • 3249 पटक पढिएको

म्याग्दी, १० जेठ । नेपाली काँग्रेसले भकिम्ली, निस्कोट र कुईनेमँगलेमा मतदातालाई धन्यबाद दिन घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्रममा निर्वाचिन पदाधिकारीहरुलाई स्थानीय मतदाताले भव्य स्वागत गरेका छन् । बेनीनगरपालिका–३ भकिम्लीमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, निस्कोटमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका र कुइनेमँगलेमा रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारीको नेतृत्वमा कार्यक्रम गरिएको हो ।

भकिम्लीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका भकिम्ली गाउँ इकाई सभापति क्या जसबहादुर पुन, महिला संघ भकिम्लीकी सभापति चित्रा रोका, मनबहादुर पुन, नवनिर्वाचित वडाअध्यक्ष पदम पुन, नेपाली काँग्रेसकी जिल्ला सदस्य मनकुमार विश्वकर्मा लगायतले स्थानीय समस्याका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले काँग्रेसको घोषणापत्र अनुसार नै स्थानीय समस्या समाधान गर्न लागीपर्ने बताए ।

उनले सबैलाई मिलाएर अघि बढ्ने टिप्पणी गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. भुपेन्द्र खड्का, जिल्ला सदस्य माधबप्रसाद रेग्मी, नेपाली काँग्रेसका सल्लाहकार लिला बानियाँ लगाायतले मन्तव्य राखेका थिए । मालिका गाउँपालिका प्रमुख रोकाको विशेष उपस्थितिमा निस्कोटमा आयोजित कार्यक्रममा स्थानीय लेकबहादुर पुन, तुलबहादुर पुन, दिलकुमार पुनले गाउँका समस्याका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा गाउँपालिका प्रमुख रोका, गाउँपालिकाका उपप्रमुखका उम्मेदवार विमला रोका, दरबाङ प्राथामिक स्वास्थ्य केन्द्र दरबाङका अध्यक्ष हिरा पुन, निर्वाचित वडाअध्यक्ष टँक पुन, मगरसँघ दरबाङका भीमकुमार बुढा लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । कुईनेमँगलेका आयोजित कार्यक्रममा रघुगंगा गाउपालिका वडा नम्बरका ८का वडाअध्यक्ष गमान छन्त्यालले वडा र गाउँका समस्याहरु जानकारी गराउँदै तत्काल अनुभुति हुने गरि समाधानको प्रयास गरिने बताए । कार्यक्रममा गाउँपालिका प्रमुख भण्डारीले समृद्ध रघुगंगा गाउँपालिकाका लागि निश्चित कार्ययोजना बनाएर अघि बढ्ने टिप्पणी गरेका थिए ।