बेनी बजारका सडकमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छरियो (तस्बिर र भिडियाे सहित)

  • १५ चैत्र २०७६, शनिबार
  • कमल खत्री
  • 2332 पटक पढिएको

कमल खत्री
बेनी, १५ चैत । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरि बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियान अन्तर्गत सडकहरुमा कोरोना संक्रमीत ब्यक्तिहरु आवत जावत गरेको हुनसक्ने भएकाले भाइरस लाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । बेनी बजार क्षेत्रसंगै मानिसहरुको आवत जावत बढी हुने क्षेत्र र बाख्लो बस्ती भएका स्थानका ग्रामीण सडकहरुमा समेत कीटनासक औषधी छर्ने योजना रहेको प्रजिअ ढकालको भनाई छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा सरकारले घोषणा गरेको लकडाउन र समितिले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गराउन समेत सक्रियता बढाएको छ । बजार क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत नागरिकहरुलाई घरभित्र बस्न आग्रह गर्ने र विदेशबाट चैत महिनायता घर आएकाहरुलाई क्वारेनटाईनमा राख्न थालिएको छ ।

विदेशबाट आएका व्यक्तिहरुको वडा र गाउँपालिका मार्फत लगत सङ्कलनको कार्य भएसंगै चैत १गते यता विदेबाट आएकाहरुलाई बेनीको न्यु वेष्ट प्वाइन्ट र माउण्ट एभरेष्टको भवन र स्थानीय तहमा निर्माण गरिएका क्वारेनटाइनमा राख्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l